पेट्रोल पम्पमा अब पेट्रोल किन्नेको रेकर्ड राखिने

काठमाण्डु टुडे २०७० मंसिर २ गते ८:३९ मा प्रकाशित

petrolचितवन, २ मंसिर– पेट्रोलियम पदार्थ गलत ठाउँमा प्रयोग भएको निष्कर्ष निकाल्दै चितवन प्रशासनले खरितकर्ताको रेकर्ड राख्नसमेत विक्रेताहरुलाई कडा निर्देशन दिएको छ ।

रेकर्ड नराखी बिक्री वितरण गरेको पाइए तथा खरिदकर्ताले विध्वंसात्मक कार्यमा प्रयोग गरेको पाइए त्यस्ता उपभोक्ता र बिक्रेता दुवैलाई कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ । संविधानसभा सदस्य निर्वाचनको दिन नजिकिँदै गर्दा हिंसात्मक घटना हुन नदिन जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा ग्यास बिक्रीमा कडाइ गरेको हो ।

चुनाव विरोधी दल तथा तिनका कार्यकर्ताले चुनाव बिथोल्ने उद्देश्यसहित जथाभावी पेट्रोल बम प्रहार गर्ने तथा सिलिण्डर बम विस्फोट गर्नेजस्ता कार्य नियन्त्रण गर्न त्यस्ता पदार्थ बिक्रीमा कडाइ गरेको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए ।

चितवनको रत्ननगरमा मात्रै तीनवटा सिडिण्डर पड्काइसकिएको र विभिन्न स्थानमा पेट्रोल प्रयोग गरेर आक्रमण भएको पाइएको प्रशासनले जनाएको छ ।     पेट्रोलियम पदार्थको दुरपयोग गरी विष्फोटन गर्ने, गुडिरहेको यात्रु बसमा पेट्रोल बम प्रहार गर्ने जस्ता अमानवीय र आपराधिक क्रियाकलाप भैरहेकाले त्यसलाई नियन्त्रण गर्न बिक्री वितरणमै कडाइ गर्न चितवन प्रशासनले निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us