
काठमाण्डु, २ मंसिर–संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले आइतबार उच्चस्तरीय भेटघाट शुरु गरेका छन् । कार्टरले आइतबार विहान राष्ट्रपति रामवरण यादव, अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका हुन् ।
रेग्मीलाई विहान ९ बजे र राष्ट्रपतिलाई १० बजे भेटेर उनी उप्रेतीलाई भेट्न गएका थिए । यसअघि नेपाल आएलगत्तै कार्टरले शनिबार एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
भेटमा मंगलबार हुने दोस्रो संविधानसभा चुनावको तयारीबारे छलफल भएको थियो । कार्टरले संविधानसभा निर्वाचनपछि नेपालमा राजनीतिक स्थीरता कायम हुने र नेपाली जनताले चाहेजस्तो संविधान बन्ने विश्वास व्यक्त गरेको रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।
६ दिनसम्म नेपालमा रहने कार्टरले मतदानका दिन आगामी मंगलवार राजधानीका बिभिन्न स्थानको अनुगमन गर्ने कार्यक्रम छ । निर्वाचनका लागि कार्टर सेन्टरले ६४ जना पर्यवेक्षक परिचालन गरेको छ ।