काँग्रेस कार्यकर्ताको घरमा आगजनी

काठमाण्डु टुडे २०७० मंसिर २ गते ४:४५ मा प्रकाशित

गोरखा, २ मंसिर– गोरखाको तान्द्राङ गाविस १ टारीफाँटस्थित कांग्रेसका क्रियाशील सदस्य एवं शिक्षक संघ गोरखाका पूर्व जिल्ला सचिव तारा पुडासैनीको घरमा आगजनी भएको छ ।

शनिबार राती करिव साढे १२ उनको घरमा आगजनी भएको हो । काँग्रेसले एकीकृत नेकपा माओवादीका कार्यकर्ताले पुडासैनीको घरमा आगजनी गरेको आरोप लगाएको छ । एमाओवादी गोरखा जिल्ला इञ्चार्ज कृष्ण धिताल नेतृत्वको १५–२० जनाको समूहले घरमा आगजनी गरेको काँग्रेसको दावी छ ।
आगजनीबाट घरभित्र रहेका अन्नपात, गहना, लत्ता कपडा, नगद, लालपुर्जा तथा विद्यालयका कागजपत्र समेत जलेर नष्ट भएको छ । पुडासैनी तारा गण्डकी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

यसैगरी एमाओवादी कार्यकर्ताले नेपाली काँग्रेस धावा गाउ“का उपसभापति शिवप्रसाद लामिछानेलाई कुटपिट गरी घाइते बनाएको काँग्रेसले जनाएको छ । घाइते लामिछानेको आरुघाटस्थित स्वास्थ चौकीमा उपचार भइरहेको छ । घाइतेको टाउकोमा गहिरो चोट लागेको र खुट्टा भाच्चिएको नेपाली कांग्रेस धावा गाउँ सभापति जानकी बञ्जराले जानकारी दिए ।

शनिबार राती काँग्रेस कार्यकर्ताहरुले एमाओवादीका कार्यकर्तालाई आक्रमण गरेकाले त्यसैको प्रतिशोधमा काँग्रेस कार्यकर्तामाथि आक्रमण भएको अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us