आज भूत मेला

काठमाण्डु टुडे २०७० मंसिर २ गते ३:५५ मा प्रकाशित

सिरहा, २ मंसिर–कात्तिक शुक्ल पूर्णिमाको दिन आइतबार तराईका विभिन्न भागमा भूत मेला लागेको छ । यस क्रममा सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।

शनिबार सा“झ घरबाट धामीझाँक्रीसहित हिँडेका गाउ“वासीको कमलाको सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा स्नान गर्न भीड लागेको हो । कमलामा कात्तिक शुक्लपूर्णिमाको दिन स्नान गर्दा वर्षभरिको पापबाट मुक्ति पाइने धार्मिक विश्वास छ । खासगरी आजको दिन सर्वसाधारणहरु धामीझाँक्रीको सहायोगमा आफ्नो कुलदेवताको सिद्धि प्राप्त गर्न कमलामा स्नान गर्छन् ।

कात्तिक शुक्ल पूर्णिमाको दिन धामीझाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै स्नान गर्ने सदियौंदेखिको परम्परा रहेको सर्वसाधारण बताउँछन् । यो मेलालाई धामीझाँक्रीको मेला पनि भनिन्छ । भूत मेलामा स्नानपछि घर फर्कने बेलामा श्रद्धालुहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लाने गर्छन् । पूजापाठ गर्दा उक्त पानी छर्केर जमिन शुद्ध पार्ने गरिएको धामीझाँक्रीहरु बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us