मौन अवधि सुरु, चुनाव प्रचार बन्द

काठमाण्डु टुडे २०७० मंसिर २ गते २:२२ मा प्रकाशित

Electation-Commisionकाठमाण्डु, २ मंसिर– संविधानसभा निर्वाचनको मौन अवधि शुरु भएको छ । मध्यराती १२ बजेदेखि मौन अवधि शुरु भएको हो । मौन अवधि भन्नाले मतदान हुने दिनको अघिल्लो अठ्चालीस घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समय हो ।

मत परिणाम आफ्नो पक्षमा ल्याउन डेढ महिनादेखि अहोरात्र चुनावी प्रचारमा जुटेका राजनीतिक दल तथा उम्मेदवारहरूले मौन अवधिमा चुनाव प्रचारका कार्यक्रम गर्न पाउँदैनन् । मौन अवधिमा सभा, जुलुश, घरदैलो, लगायत चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले रोक लगाएको छ ।

निर्वाचनको दिन मंसिर ४ गतेसम्म निर्वाचनको मौन अवधि जारी रहनेछ । गत साउन ७ बाट लागू भएको निर्वाचन आचारसंहिता, २०७० मा मौन अवधिमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । त्यस्तैः आम सञ्चारमाध्यमले मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचनको प्रचारप्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण गर्नु हुँदैन ।

औपचारिक रूपमा यो अवधिलाई मौन अवधि भनिए पनि चुनावी चलखेलको अत्यन्तै संवेदनशील, रस्साकस्सी र रणनीति तय गर्ने अवसरको रूपमा यो समयलाई उम्मेदवारले उपयोग गर्ने गरेको पाइन्छ । राजनीतिक दलका नेताहरू नै मौन अवधिलाई आफ्नो पक्षमा मतदातालाई ल्याउन अनेकौँ तिकडम अपनाउने र आचारसंहिता विपरीतका क्रियाकलापसमेत हुने गरेको बताउँछन् । ‘मनी र मसल’को प्रयोगको रूपमा समेत यो अवधि चर्चित हुने गर्दछ ।

यही मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १३० दलका छ हजार १२८ र समानुपातिकतर्फ ३३५ स्थान रहेको समानुपातिक निर्वाचनका लागि अब १२२ दलका १० हजार ७०९ उम्मेदवार कायम भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us