लिबियामा ४० मारिए, ४०० घाइते

काठमाण्डु टुडे २०७० मंसिर १ गते १४:२३ मा प्रकाशित

त्रिपोली, १ मंसिर । लिबियाको राजधानी त्रिपोलीमा भएको मिलिसिया र स्थानीय नागरिकबीचको प्रदर्शनमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । सो झडपमा परी कम्तीमा पनि ४० को ज्यान गएको र ४०० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । शुक्रबार रातिदेखि सुरु भएको सो भिडन्त शनिबार पनि जारी रहेको छ ।

स्थानीय नागरिक र त्यहाँ विगतदेखि विद्रोह गरी आएका मिलिसियाबीचमा भएको उक्त झडप गएराति देखि नै जारी रहेको भन्दै सरकारी सेना सतर्क अवस्थामा रहेको बताइएको थियो । शनिबार बिहानैदेखि पटक पटक झडपहरु भएका बताइएको छ । घाइते रहेका ४०० व्यक्तिको उपचार जारी रहेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार घाइतेको अवस्था गम्भीर रहेको छ ।

लिबियाका पूर्व तानासाह मौमर कद्दाफीलाई पदमुक्त गराउन सन् २०११ मा भएको विद्रोहपछि त्रिपोलीमा लडाकूहरू एकीकृत भएर बसेका छन् । विगतका केही महिनादेखि उनीहरु शक्तिशाली समूहको रूपमा देखिन थालेका छन् । लिबियाका कानुन मन्त्री सालेह अल मार्घनीले उक्त प्रदर्शनमा ४० को ज्यान गएको पुष्टि भएको जानकारी दिए ।

संस्कृतिमन्त्री हसन अल–अमिनले जारी गर्नुभएको एक विज्ञप्ति प्रकाशन गरी सबै सशस्त्र समूहलाई युद्ध विराम गर्न आग्रह गरेका छन् । स्वास्थ्यमन्त्री नुरेदिन डोघमानले मृत्यु हुने व्यक्तिको सङ्ख्या बढ्नसक्ने उल्लेख गरे । अन्य अधिकारीहरूले परिस्थिति अझै अराजक रहेको बताएका छन् ।

त्रिपोलीमा मिस्राता लडाकूहरूको प्रभाव बढ्दै गएको बताइएको छ । पूर्व तानाशाह गद्दाफी शासनको अन्त्यपछि त्यहाँ सो विद्रोही समूहले सशस्त्र विरोध गर्दै आएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us