के–के गर्न पाइँदैन मौन अवधिमा ?

काठमाण्डु टुडे २०७० मंसिर १ गते १४:१७ मा प्रकाशित

election_commissionकाठमाण्डु, २ मंसिर– मतदानको ४८ घण्टा अघिदेखि सुरु हुने मौन अवधि शनिबार राति १२ बजे पछि सुरु भएको छ । मौन अवधिमा जुलुस निकाल्न, नारा लगाउन, राजनीतिक दल वा दलसँग आवद्ध संस्थाको झण्डा, चुनाव चिन्ह र अन्य कुनै पनि सामग्री प्रदर्शन गर्न र प्रचार–प्रसार हुने कुनै पनि काम नगर्न र नगराउन निर्वाचन आयोगले सबै सित अपिल गरेको छ ।

यस्तै आमसञ्चार माध्यमले मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । राति १२ बजेपछि मतदानको दिन अन्तिम मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिताको पालना गर्न निर्वाचन आयोगले अनुरोध गरेको हो ।

शनिबार मध्यरातदेखि सुरु मौन अवधिले निर्वाचनको स्वेच्छता, निष्पक्षता र शुद्धतामा विशेष महत्व राख्ने भन्दै आयोगले ४८ घन्टाअघि सुरु हुने मौन अवधिमा कुनै पनि राजनीतिक दल र उम्मेदवारको पक्ष/विपक्षमा प्रचार गर्न नपाउने स्पष्ट व्यवस्था गरेको भन्दै आचारसंहिताको पालना हुने आयोगको अपेक्षा छ ।

मौन अवधिमा सञ्चारमाध्यमले प्रकाशन/प्रसारण गर्ने सामग्रीबारे अझ बढी गम्भीररूपमा हेर्ने निर्वाचन आयुक्त इला शर्माले बताइन् । ‘आचारसंहिता उल्लङ्घनका सबै घटनामा आवश्यक कारबाहीका लागि आयोग दृढ छ’ आयोगले भनेको छ ।

मंसिर ४ को निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ५ हजार २ सय ९१ जना महिला उम्मेद्वार छन् । यो समानुपातिकतर्फको कुल उम्मेदवारी (१० हजार ७ सय ९) को ४९ दशमलव ४१ प्रतिशत हो । समानुपातिकतर्फका महिला उम्मेदवारमध्ये १ हजार ७ सय ५२ मधेसी, ५ सय ८ दलित, १ हजार ६ सय २९ जनजाति, १ हजार ८ सय २९ खस आर्य समुदायबाट छन् भने ७६ जना पिछडिएको क्षेत्रबाट छन् । प्रत्यक्षतर्फ ६ सय ६७ जना महिला उम्मेदवार छन् । यो संख्या पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको कुल उम्मेदवारी (६ हजार १ सय २८) को करिब ११ प्रतिशत हो । दुवै प्रणालीमा कुल उम्मेदवारमध्ये ३५ दशमलव ३९ प्रतिशत महिला छन् ।

त्यसैगरी, १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदातामध्ये ६१ लाख ६६ हजार ८ सय २९ जना महिला छन् । यसपालि मतदानमा सहभागी हुने महिला र पुरुषको खण्डीकृत तथ्याङ्क  आयोगले प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । भविष्यमा निर्वाचनका सम्पूर्ण प्रक्रियालाई अझै समावेशी र लैङ्गिकमैत्री बनाउन आयोगले लैङ्गिक अनुगमनसमेत गरिरहेको आयोगको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us