शनिबार ४ गाडीमा आगजनी, ३ ठाउँमा विष्फोट

काठमाण्डु टुडे २०७० मंसिर १ गते १३:५२ मा प्रकाशित

home ministry of nepalकाठमाण्डु, १ मंसिर– नेकपा–माओवादी नेतृत्वको मोर्चाको बन्दमा शनिबार बन्दकर्ताले चारवटा सार्वजनिक सवारी साधनमाथि तोडफोड र आगजनी गर्नुका साथै तीन स्थानमा विष्फोटकजन्य वस्तु विष्फोट गराएको सरकारले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाका अनुसार मुलुकका विभिन्न भागमा २३ स्थानमा फेला परेका विष्फोटक पदार्थ र शंकास्पद वस्तुलाई नेपाली सेनाली निस्क्रिय बनाएको छ । यसैबीच, धादिङमा नौ राउन्ड गोली र एक थान पेस्तोलसहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको पनि मन्त्रालयले जनाएको छ ।

मतदानका लागि सडक मार्ग प्रयोग गरी आ–आफ्नो गृह जिल्ला जाने सबै मतदाताको राजमार्गमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको बताउँदै प्रवक्ता कोइरालाले लामो तथा छोटो दूरीका सवारी साधनलाई आवश्यक सुरक्षा प्रदान गरी यातायात सुचारु गरिएको जनाएको छ ।

बन्द आह्वान कर्ताले गत कातिक २४ गते यता १९ वटा सवारी साधनमा गरेको पेट्रोल बम प्रहारमा परी ३७ जना निर्दोष सर्वसाधारण घाइते भएका उनले जानकारी दिए । ती घटनामा घाइते भएकाको उपचार व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

कात्तिक २५ देखि २९ गतेसम्म बन्दकर्ताले क्षति पुर्‍याएका ३१ वटा सवारी धनीलाई क्षतिपूर्तिबापत रु चार लाख ८७ हजार रकम उपलब्ध गराइसकिएको प्रवक्ता कोइरालाले बताए । सार्वजनिक सवारी साधनमाथि तोडफोड र आजगनीलगायतका अपराधिक क्रियाकलापमा सलग्न ३४ जनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us