हामी नभएको भए काँग्रेस–एमालेका नेता जेलमै सड्थे: प्रचण्ड

काठमाण्डु टुडे २०७० मंसिर १ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको जनयुद्ध नभएको भए काँग्रेस–एमालेका शीर्ष नेता अझै जेलको हावा खाइरहेको हुने टिप्पणी गरेका छन् ।

prachandaआफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–१० मा शनिबार भएको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै उनले आफूहरुले काँग्रेस–एमालेका नेतालाई जेलमा सड्नबाट जोगाएको बताए ।

तत्कालीन राजा ज्ञानेन्द्रले ताल हानेपछि काँग्रेस–एमाले आफूहरुको शरणमा आएको र परिवर्तन स्वीकार्ने बाचा गरेपछि उनीहरुलाई साथ दिएको उनको टिप्पणी थियो ।

उनले गणतन्त्र र संविधानसभा आफ्नो पार्टीको एजेण्डा भएको बताए । काँग्रेस–एमाले घिसारिएर संविधानसभा निर्वाचनमा आएकाले उनीहरुले संविधानसभालाई आफ्नो एजेण्डा दाबी गर्दैमा पत्याउन सकिने आधार नरहेको उनको भनाइ थियो ।

‘हामी नभएको भए काँग्रेस–एमालेका शीर्ष नेता अहिले पनि जेलको हावा खाइरहेका हुने थिए’, प्रचण्डले भने, ‘ज्ञानेन्द्रले लात हानेपछि हामीले साथ दिएका कारण आज उहाँहरु बाहिर हुनुहुन्छ ।’

उनले ४ मंसिरको संविधानसभा निर्वाचनमा आफ्नो् पार्टीलाई बहुमत दिन मतदातालाई पुन: अपिल गरे । अर्को एक फरक प्रसंगमा प्रचण्डले काठमाण्डु–१० का कीर्तिपुर, थानकोट र छैमले क्षेत्रलाई समेटेर क्षेत्रीय विकास समिति गठन गर्ने बताए ।

आफ्नो अध्यक्षतामा बन्ने समितिले स्थानीय क्षेत्रको विकासका लागि काम गर्ने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us