अपाङ्गमैत्री चार मतदान केन्द्र

काठमाण्डु टुडे २०७० मंसिर १ गते १२:०१ मा प्रकाशित

धनगढी, १ मंसिर– निर्वाचन कार्यालय कैलालीले जिल्लाका विभिन्न चार ठाउँमा अपाङ्ग मतदाताका लागि मतदान गर्न सहज होस् भन्ने उद्देश्यले अपाङ्गमैत्री मतदान केन्द्र स्थापना गरेको छ ।

जिल्लाको श्रीपुर गाविसको शैलेश्वरी मावि, धनगढीको राष्ट्रिय प्रावि तारानगर, दरख गाविसको राष्ट्रिय उच्च मावि सुखड र बलिया गाविसको लम्कीमा अपाङ्गमैत्री मतदान केन्द्र स्थापना गरिएको निर्वाचन कार्यालयका अधिकृत प्रेमराज भट्टले बताए । कैलालीका ६ वटै निर्वाचन क्षेत्रमा गरी झन्डै दुई हजार अपाङ्ग मतदाता रहेको अनुमान छ ।

यसैगरी अस्थायी मतदाताका लागि मतदानको व्यवस्था गर्न जिल्लामा १० ठाउँमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । जिल्लाको कैलाली कारागार शाखा, त्रिनगर उमावि, त्रिभुवन उमावि, नेपाली सेनाको तेघरी ब्यारेकस्थित वनदेवी मन्दिर, अत्तरियाको शिव मन्दिर, बनवेहडास्थित बल्मी रेञ्जपोस्टको कार्यालय, मसुरियाको बडैपुर र तालबन्द, बलियाको गोरङ्गे र टीकापुर नगरपालिकामा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।

कारागार शाखाको मतदान केन्द्रमा कैदीहरुले र अन्य अस्थायी मतदान केन्द्रहरुमा निर्वाचनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारीलगायतले समानुपातिक मतपत्रमा मतदान गर्ने जनाइएको छ । निर्वाचनमा खटिने कर्मचारी, प्रहरी, सेनालागायतले समानुपातिक मतपत्रमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

सेना, प्रहरी, कर्मचारी, कैदीलगायत जिल्लामा झन्डै नौ हजार ५०० को सङ्ख्यामा अस्थायी मतदाता रहेका छन् । यसैबीच मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले कर्मचारीको खटन पटनको काम पूरा भई निर्वाचन सामग्रीसहित आजैबाट मतदानस्थलमा कर्मचारी खटाउने काम सुरु भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us