
नेपालगन्ज, १ मंसिर । बाँके जिल्लाको नेपाल–भारत सीमा–नाका बन्द गरिएको छ । संविधानसभा निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी सो नाकाबाट दुई मुलुक आवातजावत गर्ने सवारी साधनमा शनिबारदेखि रोक लगाइएको छ ।
यसै रोकसँगै नेपाल छिरेका गाडीहरु चुनाव नसकुन्जेलसम्म गतै रहने भएक छन् चने नेपाली गाडीहरु पनि सीमापारी नै बस्नुपर्ने हुन्छ । मंसिर ३ गते साँझ ५ बजेदेखि ५ गते बिहान ६ बजेसम्मका लागि यात्रुहरुको पैदल आवातजावतमा समेत रोक लगाइएको छ ।
यसैगरी, निर्वाचनमा आपराधिक तथा अवान्छित गतिविधि हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी शनिबारदेखि ५ गतेसम्मका लागि मदिरा ओसारपसार, बेचबिखन तथा सेवनमा पनि पूर्णतः रोक लगाइएको पनि सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यले जानकारी दिएका छन् ।
रसुवागढी नाकामा रोक
धुन्चे– १ मंसिर । संविधानसभा निर्वाचनको समयमा सुरक्षालाई दृष्टिगत गरी रसुवागढी नाकाबाट आज अपरान्हदेखि मङ्सिर ६ गतेसम्म आवतजावतमा रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार नेपाल–चीन सुरक्षा निकायबीच भएको नियमित बैठकको सहमतिअनुसार संविधानसभा निर्वाचनको समयावधिभर यो नाका बन्द गरिएको हो । केरुङमा व्यवसाय गरी बसेका नेपालीलाई पनि मतदानका लागि १ गते दिउँसै नेपाल प्रवेश गर्न यसअघि नै पूर्व जानकारी गराइएको थियो ।