
भोजपुर, १ मंसिर– भोजपुरमा एकीकृत माओवादीका चुनावी सभामा बम विष्फोट भएको छ । दुई जनाको अज्ञात समूहले कार्यक्रम स्थलमा बम फ्याँकेर विष्फोट गराएको हो ।
भोजपुर–१ अन्तर्गतको जरायोटारमा भइरहेको सभामा फ्याँकिएका दुई वटा बममा एक मात्र पड्केको र विष्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । भोजपुर–१ का एमाओवादी उम्मेदवार खेम नेपालीलाई लक्षित गरी शनिबार दिउँसो बम फ्याँकिएको हो ।
बम कसले प्रहार गरेको यकिन नभए पनि चुनाव विथोल्ने तत्वले बम प्रहार गरेको हुनसक्ने प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीको भनाइ छ । फरार रहेका दुई आक्रमणकारीको खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।
धनकुटामा पनि बम
धनकुटा– धनकुटाको बुढिमोरङ गाविस भवन नजिक फेला परेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । धनकुटा सदरमुकामबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान सो बम निष्क्रिय पारेको हो ।
शुक्रबार राति खतरा लेखी झुन्डाएर राखिएको अवस्थामा शङ्कास्पद वस्तु फेला परेको थियो । शङ्कास्पद वस्तु देखेपछि त्रसित बनेका स्थानीयवासीले खबर गरेपछि धनकुटाबाट गएको सेनाको डिस्पोजल टोलीले आज बिहान सो सुतली बम निष्क्रिय पारेको धनकुटाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए ।