
काठमाण्डु, १ मंसिर– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफ्नो पार्टी जनताको बलमा नै स्थापित भएकाले जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन आफू हरदम तत्पर रहेको बताउँदै फर्पिङमा आयोजित जनसभालाई सम्बोधन गरे । आफ्नो पार्टीको पक्षमा देशव्यापी जनलहर पैदा भएको बताउँदै प्रचण्डले भने, ‘काठमाण्डु निर्वाचन क्षेत्र नं १० को नेपाली राजनीतिमा महत्वपूर्ण स्थान छ, आगामी दिनमा यस क्षेत्रको विकास निर्माणमा आफू प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता यहाँहरु समक्ष गर्छु ।’
यस पटकको निर्वाचनमा आफ्नो पार्टीले पूर्ण बहुमत प्राप्त गर्ने दाबी समेत गर्दै प्रचण्डलेस्थानीय जनताले उठाएका मागलाई पूरा गर्ने बचनबद्धता व्यक्त गरे । काठमाण्डु–१० को छैमेले, सेतीदेवी, फर्पिङलगायतका स्थानको घरदैलोपछि शुक्रबार फर्पिङमा जनसभा भएको थियो । सो अवसरमा स्थानीयले प्रचण्डसँग स्थानीय क्षेत्रको विकास निर्माण, खानेपानी, विद्यालयहरुको स्तरोउन्नति, संविधान निर्माणलगायतका विषयमा चासो राखेका थिए ।