सरकारको ध्यान मतदाता सुरक्षामा

काठमाण्डु टुडे २०७० मंसिर १ गते ८:२३ मा प्रकाशित

काठमाण्डु, १ मङ्सिर–सरकारले संविधानसभा निर्वाचनमा मतदाताको सुरक्षाका लागि सुरक्षा रणनीति केन्द्रित गर्ने भएको छ ।
बहिष्कारवादीका साथै निर्वाचनमा सहभागी भएकै दलबाट पनि आफ्नो पक्षमा मत पार्नका लागि मतदातालाई विभिन्न धरपकड हुन सक्ने अनुमान गर्दै सरकारले निर्वाचनका दिन सो सुरक्षा रणनीति लिने तयारी भइरहेको बताएको छ । निर्वाचन अघि, निर्वाचन र मतदानपछि गरी तीन चरणको सुरक्षा रणनीति बनाएको सरकारले मङ्सिर ४ गते मतदानको दिन मतदाताको सुरक्षाका लागि सुरक्षा व्यवस्था अपनाउने जनाएको हो ।
मतदातालाई कुर्न धम्की हुन्छ कि वा उनीहरूलाई मत हाल्न आउनै नदिने रणनीति कसैले बनाउँछ कि भनी सुरक्षाकर्मीलाई त्यस दिनका लागि निकै चनाखो बनाइएको गृह मन्त्रालयका सहसचिव एवम् सुरक्षा व्यवस्था महाशाखा प्रमुख शङ्कर कोइरालाले बताए ।
मतदाता आउने गौँडा छेकेको थाहा पाएमा सुरक्षाकर्मीलाई खबर गरे उनीहरूले मतदान केन्द्रसम्म ल्याउने र यसका लागि उक्त केन्द्रमा खट्ने प्रहरी अधिकारीको फोन नम्बर पनि सार्वजनिक गरिने र सर्वसाधारणले त्यसमा फोन गर्न सक्ने उनले जानकारी दिए ।
एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडिज अल्मुनाई एसोसिएसन नेपालले ‘संविधानसभामा मतदाता र मतदान केन्द्रको सुरक्षा’ विषयमा शुक्रबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी अन्य सुरक्षा अधिकारीले पनि मतदाता र मतदान केन्द्रको भरपर्दाे सुरक्षा रणनीति बनाइएको जानकारी दिए । उनीहरूले मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका र उनीहरूले यही मङ्सिर ३ गतेसम्म त्यहाँको सम्भावित सुरक्षा चुनौतीका बारेमा अध्ययन गर्ने जानकारी दिए ।
वाग्मती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले एकीकृत सुरक्षा योजनाअन्तर्गत सबै सुरक्षा निकायको संयुक्त सुरक्षा टोली मतदान केन्द्रमा पुगिसकेको जानकारी दिए । उनले अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी पुगिसकेका र स्थलगत रुपमा स्थानीय निकाय र समुदाय एवम् सरोकार भएकाहरूसँग सम्भावित सुरक्षा चुनौतीका बारेमा छलफल थालिसकिएको बताए ।
पूर्वगृहसचिव नवीन घिमिरेले आफू मन्त्रालयमा छँदै बनाइएको एकीकृत सुरक्षा योजना निर्वाचनमा मात्र नभई मतदानका लागि मतदाताको सुरक्षा र त्यसपछिको समेत सुरक्षामा केन्द्रित हो भन्दै त्यसका लागि सुरक्षाका सबै अङ्गको समन्वय जरुरी रहने बताए ।
सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतले अहिलेजस्तो सुरक्षा व्यवस्था यसअघिका कुनै पनि चुनावमा थिएन भन्दै तर सुरक्षा चुनौती धेरै छन् भनेर काम गर्नुपर्ने सुझाव दिए । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा र सिबी गुरुङले यस पटकको निर्वाचनमा नेपाली सेनासहित सुरक्षाका सबै अङ्गले काम गरिरहेकाले जनताको मतको अधिकारका विषयलाई विशेष रुपमा ध्यान पु¥याउनुपर्ने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us