
सोलुखुम्बु, १ मङ्सिर–एकीकृत नेकपा (माओवादी)ले देउसामा शुक्रबार मृत भेटिएकी रश्मी राईको हत्यामा संलग्नलाई कारबाही नगरे शव नबुझ्ने चेतावनी दिएको छ ।
एकीकृत नेकपा (माओवादी)ले शनिवार सल्लेरीमा पत्रकार सम्मेलन गरी राईको हत्या काँग्रेस कार्यकर्ताबाटै भएको दाबी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
रश्मीको शव शुक्रबार बेलुकी नै सल्लेरी ल्याएका थिए । शव परीक्षणका लागि सोलु अस्पताल फाप्लुमा राखिएको छ । उता काँग्रेसले भने शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै रश्मीको हत्यामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताइसकेको छ भने प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
हत्यामा राजनीतिक कारण छ वा छैन, यसको अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नसकिने र चाँडै तथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । रासस