बालकृष्ण ढुंगेल भन्छन्, एमालेले भीरबाट बस खसाल्यो

काठमाण्डु टुडे २०७० मंसिर १ गते ९:१० मा प्रकाशित

ओखलढुंगा, १ मंसिर– एकीकृत माओवादीले ओखलढुंगामा आफ्ना नेता कार्यकर्ता सवार गाडी एमालेले दुर्घटना गराएको आरोप लगाएको छ ।
एकीकृत माओवादी केन्द्रीय सदस्य बालकृष्ण ढुंगेलले चालकलाई प्रयोग गरी एमालेले षड्यन्त्रपूर्वक गाडी भिरबाट खसालेको आरोप लगाए ।

उनले गाडी न्यूट्रोलमा रोकेर गाडी खसालेपछि चालक भागेको बताए । ‘एमालेहरुले हिजै कुन ठाउँबाट गाडी खसाल्ने भनेर हेरेका रहेछन्’, ढुंगेलले काठमाण्डु टुडेसँग भने, ‘चालकलाई प्रयोग गरेर गाडी खसालियो ।’

ढुंगेलले चालक एमाले समानुपातिक उम्मेदवार ओम दयालका आफन्त भएको र उनलाई पैसामा किनिएको दाबी गरे । रुम्जाटारबाट निसंखेमा हुने चुनावीसभामा हिंडेका एमाओवादी कार्यकर्ता सवार ना २ ख २३११ नम्बरको गाडी शनिबार बिहान ठूलो छापको छरछरे भीरबाट २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा एकीकृत माओवादीका दुई कार्यकर्ताको मृत्यु भएको छ । मृतकमध्ये कृष्ण कटुवालमा मात्र सनाखतभएको छ । वरिष्ठ केन्द्रीय सदस्य राम कार्की र ओखलढुंगा–१ का उम्मेदवार केशव राईसहित २५ भन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि काठमाण्डु ल्याइएको छ । नेता कार्कीको टाउको, छाती र डाढमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us