काठमाण्डु, १ मंसिर–प्रमुख निर्वाचन आयूक्त निलकण्ठ उप्रेतिले जनतामा भय त्रास उत्पन्न गर्ने र अमानवीय आक्रमण गर्नेहरु आतंककारी भएको बताएका छन् । निर्धारित संविधानसभाको निर्वाचनको लागि निर्वाचनमा सहभागि सम्पूर्ण दलहरुको प्रतिबद्धता सार्वजनिक गर्न आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उप्रेतीले अबोध नागरिकहरुलाई हिंसाको सिकार बनाउनेहरुलाई आतंककारी बाहेक केही भन्न नसकिने बताए ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रमुख आयूक्त उप्रेतिले पशुले समेत आफ्नो जातको कसैलाई नमार्ने गरेको उल्लेख गर्दै मानिस मार्न तयार हुने पेट्रोलबम प्रहार गर्ने मान्छेहरु आतंकारी बाहेक केही हुन नसक्ने ठोकुवा गरे । उनले भने‘यस्ता कार्य गर्नेलाई बुझाउन आतंककारी बाहेक अर्को शब्द छैन । अवोध नागरिकलाई सिकार बनाउनेहरु राष्ट्रघाती हुन । यस्तालाई क्षमा दिनु हुँदैन कारवाही गर्नु पर्छ ।’
उप्रेतिले थपे‘मानवले मानव मार्ने काम घृणा योग्य कुकर्म हो । यस्ता आतंकारीहरुलाई जनताले आफै तिरस्कार गरिदिन्छन । जति सुकै गरे पनि लोकतन्त्रको जित हुन्छ, यस्ता आतंककारीको हार निश्चित छ ।’
सबै मतदाताले मतदानमा सहभागि हुने मनस्थिति बनाईसकेको बताउँदै उप्रेतीले निर्वाचन सफल हुने दावी गरे । उप्रेतीले भने‘धेरै मतदाताले मत हाल्छन । संविधानसभा असफल नहुने गरी मत हाल्छन ।’ उनले संसारमा कतै पनि यति प्रतिसत मत हाल्दा सफल वा असफल भन्ने मापदण्ड नभएको उल्लेख गर्दै धेरै मतदान हुने कम विकसित देशमा लोकतन्त्र धर्मराएको र कम मत खस्ने विकासित देशमा लोकतन्त्र संस्थागत भएको उदाहरण प्रस्तुत गरे ।
मतदाताको मतको सुरक्षा गर्नको लागि अस्थायी मतदाता परिचय पत्र वितरण गरेको जानकारी दिदै निर्वाचन सफलता पूर्वक सम्पन्न भएपछि मात्रै यसको महत्व थाहा हुने उनको तर्क थियो । उनले भने–यहि परिचय पत्रले स्थानीय निकायमा समेत मत हाल्न पाईन्छ, त्यसकारण पनि यसको महत्व छ । परिचय पत्र नहुने हो भने कसले कसको मत हाल्छ थाहाँ हुँदैन थियो । अब अरुले भोट हाल्न पाउँदैनन । परिचय पत्र अरुले खोसे पनि नागरिकता सहितको अन्य परिचय पत्रले मत हाल्न पाउने भएकोले मतदाता अझै निश्चिन्त हुन्छन ।
मतदाताहरु निर्वाचनमा मत हाल्न जाँदा एकैपटक सँगसँगै निस्कने भएकोले सुरक्षाको डर नहुने दावी गर्दै भने–मतदाताहरु पर्व जस्तै गरेर नाच्दै गाउदै सवा करोड मतदाता निस्कदा कसैले पनि केही गर्न सक्दैन ।
उप्रेतीले सबै मतदातालाई सम्बन्धित जिल्लामा जाने गरी सरकारले सुरक्षा सहित सवारी साधन सुचारु गरेको दावी गर्दै निर्वाचनको बेला अपाङ, असक्त र बृद्धहरुकालागि सवारी साधनको अनुमति दिएर भए पनि मतदान गराउने बताए ।
मतदाताहरुलाई खरिद गरेको भन्ने प्रश्नमा कसैले पनि मतदातालाई प्रभावित पार्ने गरी गतिविधी गर्न नपाउने स्पष्ट पार्दै उनले कसैले त्यस्तो खरिद गरेको भन्ने प्रमाण आए कारवाही गर्ने चेतावनी दिए ।
निर्वाचनको लागि सुरक्षासहितको सबै सामग्री निर्वाचन केन्द्रहरुमा पुगिसकेको जानकारी दिदै उप्रेतिले निर्वाचन बहिस्कार गर्न पाईए पनि जनतालाई मत हाल्न बाट रोक्न भने कसैले नपाउने र त्यस्तो प्रयत्न गरे कारवाही गर्ने स्पष्ट पारे ।
उम्मेदवारहरुको खर्चको विलभपाई नआईसकेकोले अहिले खर्चको विषयमा केही भन्न नसकिने तर्क गर्दै उनले विलभर्पाइ हेरेपछि दल र उम्मेदवारहरुलाई कानून अनुसार छुट वा कारवाही हुने बताए ।
उप्रेतीले आचार संहिता उल्लघनको उजुरीको विषयमा छानविन भईरहेको र विधि अनुसार गर्दा केही समय लागेकोले ढिला भएको जानकारी दिदै छानविनपछि उल्लंघन कर्ताहरुमाथि कानून अनुसारको कारवाही हुने स्पष्ट पारे ।
रिपोर्टर्स क्लब नेपालको पहलमा तयार पारिएको प्रतिबद्धता पत्रमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काग्रेसका सभापति सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष सुर्यबहादुर थापा र राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरुले हस्ताक्षर गरेका छन् ।
चार बुँदे प्रतिबद्धता पत्रमा दलहरुले निर्वाचनलाई खलल पुर्याउने कुनै पनि किसिमका जवरजस्ती गर्ने, डर त्रास उत्पन्न गराउने र हिंसात्मक गतिविधि नगर्ने, निर्वाचन आयोगले जारी गरेको आचार संहितको पूर्ण पालना गर्ने, निर्वाचन धाधलीरहित बनाउने, मतदान सार्वभौम नागरिकको नैसर्गिक अधिकार भएकोले बुथ क्याप्चर, धाँधली लगायतका कुनै पनि काम नगर्ने र यी प्रतिबद्धता उल्लघन गरे कानून बमोजिमको सजाय भोग्न तयार रहेको बाचा गरेका छन् । उप्रेतिले भने–यो आफ्नो संविधान आफै निर्माण गर्ने निर्वाचन हो । यस्तो मौका फेरि आउँदैन । त्यसैले सबैले यसको सदुपयोग गर्नु पर्छ ।’