बन्दले रोकिएन चुनावी अभियान

काठमाण्डु टुडे २०७० मंसिर १ गते ४:२८ मा प्रकाशित

लहान, १ मंसिर–संविधानसभाको निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीसहितको मोर्चाले निर्वाचन प्रभावित बनाउन देशभरि यातायात बन्द गरे पनि बहिष्कारवादीको चक्काजामले सिरहाको चुनावी वातावरण भने रोकिएको छैन ।

मत हाल्ने दिन नजिकिंदै जाँदा चुनावी वातावरण तीव्र रुपले बढेको छ । माओवादी नेतृत्वको बहिष्कारवादी मोर्चाले बन्द गरेको भए पनि सिरहाका सबै क्षेत्रमा चुनावमा भाग लिएका राजनीतिक दलले आआफ्नो अन्तिम चरणको प्रचार अभियानलाई तीव्र बनाएका छन् ।

निर्वाचनको केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका उम्मेदवार र  तिनका सहयोगी गाउँबस्तीमा मतदातालाई मत हाल्ने तरिका बुझाउँदै आफ्नो पक्षमा मत तान्ने कसरत गरिरहेका छन् । त्यसका साथै आफ्नो पक्षमा भएका मत बिग्रन नदिन खबरदारी गरिरहेका छन् ।

यातायात बन्द भए पनि त्यसले चुनावी वातावरणमा केही असर नपरेको पूर्व मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)बाट क्षेत्र नं  ४ का उम्मेदवार शत्रुधनप्रसाद सिंह कोइरी बताउँछन् ।

बहिष्कारवादी मोर्चाले यातायात बन्द गरे पनि सिरहा क्षेत्र नं ५ मा एनेकपा (माओवादी )र नेकपा(एमाले )लगायत स्वतन्त्र उम्मेदवारले प्रचार अभियानलाई निरन्तरता दिएका छन् ।

यस पल्टको संविधानसभाको निर्वाचनमा ३१ दलका ८० स्वतन्त्रसहित दुई सय ४१  उम्मेदवार र दुई लाख ९५ हजार ८२ मतदाता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us