
काठमाण्डु, १ मंसिर–अमेरिकाका पूर्वराष्ट्रपति एवम् कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर संविधानसभा चुनाव पर्यवेक्षणका लागि शनिबार बिहान काठमाण्डु आइपुगेका छन् । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र निर्वाचन आयोगको निमन्त्रणामा आगामी मङ्गलबार हुने संविधानसभा निर्वाचन पर्यवेक्षणका लागि उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी काठमाण्डु आएका हुन् ।
भारतको नयाँदिल्ली हुँदै नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नायब शिष्टाचार महापाल हेमलाल भट्टराई, नेपालस्थित कार्टर सेन्टरका निर्देशक डेभिड ह्यामिल्टनलगायत सेन्टरका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए ।
पूर्वराष्ट्रपति कार्टर नेतृत्वको प्रतिनिधिमण्डलमा थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री डा सुराकियार्टलगायत कार्टर सेन्टरका उच्च अधिकारी छन् । राष्ट्रपति डा. रामवरण यादवसँग पूर्वराष्ट्रपति कार्टरले सोमबार राष्ट्रपति कार्यालय र अध्यक्ष रेग्मीसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालस्थित कार्टर सेन्टरका अनुसार प्रतिनिधिमण्डलले निर्वाचनसँग सरोकार राख्ने प्रमुख राजनीतिक दल, स्वतन्त्र उम्मेदवार, नागरिक समाजका सङ्घसंस्था, सरकारी अधिकारी, अन्तर्राष्ट्रिय समुदायसँग भेटवार्ता गर्नाका साथै मतदान एवम् मतगणनाको पर्यवेक्षण गर्नेछ । पहिलो संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि पनि उनी नेतृत्वको टोली नेपाल आएको थियो । पछिल्लो पटक गत चैतमा पनि उनले नेपालको भ्रमण गरेका थिए ।
ते¥ह जना उच्च सुरक्षाकर्मी लिएर आएका कार्टरको भ्रमण तालिकालगायत अन्य विवरण सुरक्षा संवेदनशीलता भन्दै सेन्टरले सार्वजनिक गरेको छैन । पूर्वराष्ट्रपतिको भ्रमणबारे नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ताले पनि सूचना प्रवाह गर्न अस्वीकार गरेका छन् । रासस