उम्मेदवारको घरमा बम विष्फोट

काठमाण्डु टुडे २०७० मंसिर १ गते २:५५ मा प्रकाशित

bardiya-districtकाठमाण्डु, १ मंसिर–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार देवी प्रसाद चौधरीको घरमा बम विष्फोट भएको छ । रुपन्देहीको हाटिबनगाई–४ स्थित चौधरीको घरमा अज्ञात समूहले बम विष्फोट गराएको हो ।

बम विष्फोटबाट घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

चौधरीको घर अगाडिको गेटमा फेला परेका अरु दुईवटा बम भने नेपाली सेनाको टोलीले शनिवार विहान निष्कृय पारेको छ ।

काँग्रेस उम्मेदवारको घरमा पनि बम

यसैगरी बर्दिया क्षेत्रनम्बर २ का काँग्रेस उम्मेदवार सन्जयकुमार गौतमको घर अगाडी फेला परेको सकेट बमलाई पनि नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

यसैगरी सुनसरीको प्रकाशपुर ४ स्थित बसपार्क क्षेत्रमा फेला परेका दुईवटा बमलाई पनि सेनाको टोलीले निष्कृय पारेको छ । बोरामा राखिएको शंकास्पद बस्तु देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । यसैगरी पर्साको विश्रामपुरस्थित एक स्कूलमा पनि शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आगजनी

पर्वतको नाङ्लीवाङ ९ घर भएका नेकपा मालेका प्रत्यक्ष उम्मेदवार डिलबहादुर शेर्पालीको ग ६ प ९५९५ नम्बरको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेको छ ।

यस्तै रोल्पाको नुवागाउँमा चुनाव प्रचारमा हिँडेका आफ्ना कार्यकर्ताहरुलाई माओवादीले आक्रमण गरेको एमालेले जनाएको छ ।

निर्वाचनको बेला आतंक सिर्जना गर्ने उद्देश्यले बिभिन्न स्थानमा विष्फोटक पदार्थ राख्ने र गाडिमा आगजनी गर्ने गतिविधि भैरहे पनि त्यसको जिम्मा कसैले लिएको छैन । निर्वाचन विरुद्ध गतिविधि गर्दै आएको वैद्य माओवादी नेतृत्वको मोर्चाले आतंक सिर्जना गर्ने उद्देश्यले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी मोर्चाले त्यसमा आफ्नो संलग्नता नरहेको जिकीर गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us