६ हजार एक सय २८ उम्मेदवार प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १७:४० मा प्रकाशित

काठमाण्डु २९ कात्तिक–संविधानसभा निर्वाचनका लागि आवश्यक सामग्री र सुरक्षा प्रबन्धसहित अधिकांश मतदानस्थलमा कर्मचारीहरू पुगिसकेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि ६८ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्छ । १० हजार १३ मतदानस्थल र १८ हजार ४५७ मतदान केन्द्रका लागि दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।
निर्वाचन आयोगमा आयोजित विशेष पत्रकार सम्मेलनमा आयोगका आयुक्त दोलखबहादुर गुरुङले सो जानकारी दिँदै अब मङ्सिर ४ गते बिहान ७ बजेदेखि हुने मतदानको तयारीका लागि ती कर्मचारीहरू सम्बन्धित मतदानस्थलमा जुटिरहेको बताए ।
निर्वाचनका लागि एक करोड २१ लाख ४७ हजार ८६५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । ६ हजार १२८ प्रत्यक्ष निर्वाचनमा र १० हजार ७०९ जना समानुपातिक निर्वाचनका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
उनले संविधानसभा निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिँदै मतदाताहरूलाई निर्धक्करूपमा मतदानस्थलमा पुगी आफूलाई मन परेको दल र उम्मेदवारलाई आफ्नो अमूल्य मत खसाल्न आग्रह गरे ।
आयुक्त गुरुङले निर्वाचन प्रक्रियामा सहभागी हुने उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, मतदाता, कर्मचारी, पर्यवेक्षक एवम् सरोकारवाला सबैको एकीकृत सुरक्षा योजनामार्फत सुरक्षाका प्रदान भइरहेको बताए ।
अहिलेको निर्वाचन सुरक्षा उम्मेदवार र दल केन्द्रित, मतदानस्थल केन्द्रित र मतदाता केन्द्रित रहेको भन्दै मतदानस्थलको सुरक्षाका लागि तीन घेरोको सुरक्षा व्यवस्था गरिएको उनले बताए ।
मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने व्यवस्था गरिएको छ । एउटा मतदान केन्द्रमा कम्तीमा सात जना सुरक्षाकर्मीदेखि आवश्यकता अनुसार परिचालन हुने जनाइएको छ ।
दुईसय ४० वटै निर्वाचन क्षेत्रमा ती तीनवटै सुरक्षा अङ्गसहित म्यादी प्रहरी गरी दुई लाख सुरक्षाकर्मी यस पटकको निर्वाचनमा परिचालन हुनेछन् । आवश्यकता अनुसार पेट्रोलिङ र हवाई गस्तीको समेत सुरक्षा प्रबन्धमा मिलाइएको छ । दुई मिनेटदेखि १० मिनेटको अवधिमा जुनसुकै मतदानस्थल थप सुरक्षा प्रबन्ध हुने बताइएको छ ।
निर्वाचन आयोगले सुरक्षासम्बन्धी आवश्यक निर्णय तत्काल लिन आयोगमा सुरक्षा समिति गठन गरी काम गरिरहेको छ । सुरक्षा अङ्गका उच्च अधिकारीहरू समेत सम्मिलित संयुक्त निर्वाचन परिचालन केन्द्र सञ्चालन रहेको छ । केन्द्रले आधुनिक सूचना प्रविधिको उच्चतम प्रयोग गरी सबै निर्वाचनस्थलमा हरपल हरक्षण अनुगमन गर्ने व्यवस्था मिलाएको छ ।
आयुक्त गुरुङले भने– ‘मतदान स्वतन्त्र, भयरहित र विश्वसनीय रूपमा सम्पन्न हुनेमा ढुक्क हुन आयोगको तर्फबाट म आम मतदातालाई अपिल गर्दछु ।’
निर्वाचन प्रक्रियाप्रति असहमत केही पक्षले असहमति जाहेर गर्ने शान्तिपूर्ण उपाय व्यवस्था गर्दै बन्द हड्ताल, तोडफोड, आगजनी, यात्रुसवार, गाडीमा साङ्घातिक आक्रमण जस्ता गतिविधि जारी राखी भय र त्रास फैलाउन खोजेकोप्रति आयोगका गम्भीर ध्यानाकर्षण भएको भन्दै आयुक्त गुरुङले निर्वाचन प्रभावित गर्ने लक्ष्य राखी गरिएका त्यस्ता कारबाही तत्काल रोक्न र शान्तिपूर्णरूपमा मतदान गर्न पाउने नागरिक अधिकारको सम्मान गर्न आग्रह गरे ।
आयुक्त गुरुङले फोटोसहितको मतदाता परिचय पत्र वितरण सबै निर्वाचन क्षेत्रबाट सुरु गरिएको र त्यस्तो नामावलीमा नाम रहेको तर कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नका लागि नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, पासपोर्ट वा नेपाल सरकार तथा सरकारी स्वामित्वमा रहेका संस्थाले जारी गरेका परिचय खुल्ने फोटोसहितको प्रमाणका आधारमा पनि मतदान गर्न दिने व्यवस्था रहेको जनाएको छ ।
उनले राम्रो निर्वाचनको आधार तयार गर्न आयोगले निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई समान व्यवहार गरेको, निर्वाचन चिन्ह दिँदा पक्षपात नगरिएको र सबै दललाई मतदातासमक्ष आफ्नो धारणा राख्न सरकारी रेडियो र टेलिभिजनमा निःशुल्क समय पनि उपलब्ध गराइएको बताए ।
मतदानामा सरिक हुन प्रेरित गर्न र सही ढङ्गले मतदानको तरिका मतदातालाई सिकाउन आयोगले सम्भव भएसम्म सबै तरिका प्रविधि र उपाय प्रयोग गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको उनले दिए ।
मतदाता शिक्षाका लागि नेवारी, शेर्पा, राई वान्तावा, पश्चिमा थारु, खाममगर, उर्दु, अवधि, रानाथारु, तामाङ, मगर, लिम्बु, पूर्वेली थारु, भोजपुरी, गुरुङ, डोटेली, मैथिलीलगायतका भाषामा मतदाता शिक्षा हातेपुस्तिका प्रकाशन गरेर मतदाताहरूलाई संविधानसभाका बारेमा जानकारी गराएको उनले बताए ।
अघिल्लो संविधानसभाको निर्वाचन ६ प्रतिशत भन्दा बढी बदर मत भएका २२ जिल्लाका ७१ निर्वाचन क्षेत्रमा विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी उनले दिए ।
सञ्चारकर्मीको एक जिज्ञासामा उनले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न आयोगले शान्ति सुरक्षाका लागि आवश्यक सबै प्रकारका नीति रणनीतिहरू अवलम्बन गरेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us