
काठमाण्डु, २९ कात्तिक– महानायक राजेश हमालले अहिले मुलुकको अवस्था प्रतिकूल, चुनैतीपूर्ण र समस्यामा रहेपनि यसको विकल्प नरहेकाले देशको संविधान बनाउन तथा देशको अग्रगामी भविष्यका लागि चुनावमा भोट खसाल्नुपर्ने बताएका छन् ।
नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको ऐतिहासिक संविधानसभा निर्वाचनमा चलचित्रकर्मीहरुको दायित्व र भूमिका विषयक अन्तरक्रिया उनले भने, ‘सम्पूर्ण देश, दलहरुको सहमतिमा हर्ष उल्लासका साथ चुनाव हुन गएको छैन तर राजनीतिलाई निकास दिने हो भने जस्तोसुकै प्रतिकूल वातावरणमा पनि चुनावमा जानुपर्ने बाध्यता छ, निकासका लागि भोट दिनुपर्छ ।
वरिष्ठ कलाकार बसुन्धरा भुषाल, शम्भुजीत बाँस्कोटा, निर्देशक लक्ष्मीनाथ शर्मा, उज्ज्वल घिमिरे, निर्माता राजकुमार राई, नायिका करिष्मा मानन्धर र नीशा अधिकारीले पार्टीभन्दा राम्रो मान्छे छानेर आफ्नो अधिकारको रुपमा रहेको मत प्रयोग गर्न र संविधान बनाउने काममा निर्धक्कसाथ चुनावमा सहभागी हुन आग्रह गरे ।