चितवनको २६ स्थानमा शंकास्पद वस्तु

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १०:२२ मा प्रकाशित

चितवन, २९ कात्तिक– चुनाव विरोधी गतिविधि सञ्चालन गर्दै आएको नेकपा–माओवादीसहित साना ३३ दलले आह्वान गरेको बन्दका समयमा चितवनका २६ स्थानमा शंकास्पद वस्तुहरु भेटिएका छन् । जसमध्ये पाँचवटा बम रहेको र अन्य जनतालाई त्रसित बनाउनका लागि शंकास्पद वस्तु राखिएको नेपाली सेनाले जनाएको छ ।

बिहानको समय हुन नपाउँदै नक्कली बम भेटिने र साँझको समयमा सवारी साधनमाथि तोडफोड र आगजनी हुने गरेपछि सुरक्षा निकायलाई थप चनाखो बनाएको छ । स्थानीय प्रशासनको सक्रियताका कारण मानवीय र ठूलो अप्रिय घटना भने यहाँ हुन पाएको छैन । कात्तिक २५ गतेदेखि यता चितवनमा पाँच स्थानमा झडप भएको छ भने पाँच स्थानमा तोडफोड र आगजनी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नेकपा–माओवादीसहितको मोर्चाले आह्वान गरेको यातायात बन्दका कारण चितवनलगायत देशभरीको जनजीवन प्रभावित भएको छ । यसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले चितवनको सुरक्षा रणनीतिसमेत परिवर्तन गर्दै सुरक्षालाई मजबुत बनाएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए ।

पछिल्लो समय चुनाव विरोधी गतिविधि सञ्चालन हुँदै आएको भए पनि त्यसले मतदातालाई असर नगर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us