आयोगका कर्मचारी अलपत्र

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १४:२० मा प्रकाशित

सल्यान, २९ कातिक– संविधानसभा चुनाव गराउन गाउँ जान लागेका सल्यानका कर्मचारीहरु यातायात समितिले गाडी चलाउन नमानेपछि अलपत्र परेका छन् । सुरक्षाको कारण देखाउँदै सल्यान–रुकुम यातायात समितिले अन्तिम समयमा आएर गाडी दिन नमानेपछि गाउँ जान ठिक्क परेका कर्मचारीहरु अलपत्र परेका हुन् ।

कर्मचारी अलपत्र परेपछि सरकारी कार्यालयको जिपको प्रयोग गरेर मतदान अधिकृत र मतदान केन्द्रको आवश्यक सामग्री स्कर्टिङ गरेर लगिएको छ । तर खटिएका केही कर्मचारीहरु हिँडेर गाउँतर्फ लागेका छन् भने कतिपय सदरमुकाममै बसेका छन् ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले यातायात समितिसँग पाँचवटा बस लिने सहमति भएको भएपनि समिति गाडी चलाउन सहमत नभएपछि समस्या आएको बताए । शुक्रबार बिहान दाङमा स्कर्टिङ गरी ल्याएर पार्किङ गरिराखिएको बसमा आगजनी गरिएपछि व्यवसायीले गाडी चलाउन नमानेका हुन् ।

दुई निर्वाचन क्षेत्र रहेको सल्यानमा निर्वाचन सम्पन्न गर्न १४४ मतदान केन्द्रमा एक हजार २५० कर्मचारी खटिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us