
हेटौँडा, २९ कात्तिक– जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा शुक्रबार हेटौँडामा बसेको सर्वदलीय बैठकले संविधानसभा निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन विभिन्न राजनीतिक दलको तर्फबाट प्रत्यक्ष सहयोग गर्ने सर्वसम्मति गरेको छ ।
सो बैठकले निर्वाचन आयोगले तोकेको आचारसंहितालाई अक्षरशः पालना गर्नुका साथै विभिन्न दलहरुले निर्वाचन प्रचारको क्रममा सार्वजनिक स्थानमा चुनावी तोरण, पोस्टर र पार्टीको चिह्नसहितको झण्डा भोलि नै दलले हटाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित जानकारी पठाउने निर्णय गरेको छ ।
प्रजिअ एकनारायण अर्यालको अध्यक्षतामा भएको सो साथै बैठकले मकवानपुरको पालुङ, दामन, भीमफेदी, मनहरि, लोथरा तथा हेटौँडाको सार्वजनिक स्थल, होटलमा शुक्रबार साँझदेखि आगामी मङ्सिर ५ गतेसम्म मदिराको बिक्री, वितरण र सेवन गर्न निषेध गरेको छ ।