सोचेभन्दा बढी मत खस्छः श्रेष्ठ

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ११:३३ मा प्रकाशित

narayan-kaji_20111226084444हेटौँडा, २९ कात्तिक– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले आसन्न संविधानसभाको चुनावमा अन्तर्राष्ट्रिय जगतले सोचेभन्दा बढी मत खस्ने दाबी गरेका छन् । संविधान निर्माणको लागि मत हाल्न जनता उत्साहित भएको पाइएकाले बढी मत खस्ने उनको भनाइ थियो ।

क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने, ‘जनताले बन्दलाई झेलेर, डर र त्रासलाई चिरेर भएपनि राष्ट्र निर्माणका लागि मत खसाल्ने छन् ।’ उनले फोटोसहितको मतपत्र बनेकाले फर्जी मत खस्ने डर पनि नरहेको बताए ।

हाल भइरहेको विभिन्न आपराधिक गतिविधि र घटनाको कसैले जिम्मा नलिएकाले कुनै दललाई आरोप लगाउन नमिल्ने तर घटना गरेर जिम्मा नलिनु राजनीतिक आचरण नभएको उनले उल्लेख गरे । कतिपय दलले तत्कालीन लाभ लिनका लागि गरिरहेको गतिविधिले उनीहरुकै खुट्टामा बञ्चरो लाग्ने उनको तर्क थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us