सरकार ढुक्क छः रेग्मी

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १०:०६ मा प्रकाशित

Khilaraj-Regmiकाठमाण्डु, २९ कात्तिक– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले स्वतन्त्र एवम् निष्पक्ष निर्वाचन वर्तमान सरकारको एक मात्र लक्ष्य भएको बताएका छन् । उनले शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुनेमा सरकार ढुक्क रहेको पनि बताए ।

आगामी मङ्गलबार हुने संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न आएको एसियन नेटवर्क फर इलेक्सन्स मिसनका प्रमुख दामासो मग्वुवाल नेतृत्वको पाँच सदस्यीय टोलीसँग शुक्रबार  भएको भेटमा रेग्मीले निर्वाचनको सबै तयारी पूरा भइसकेको पनि बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता महेन्द्रबहादुर थापाका अनुसार पर्यवेक्षक टोलीको मूल्याङ्कनले नेपालको निर्वाचन प्रक्रियामा सहयोग पुग्ने बताउँदै अध्यक्ष रेग्मीले मतदान केन्द्रमा निर्वाचन अधिकारी एवम् सुरक्षाकर्मी पुग्ने क्रम जारी रहेको जानकारी गराएका थिए ।

मिसन प्रमुख मग्वुवालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आफ्नो टोलीले पर्यवेक्षण गर्ने बताउँदै ५० जिल्लामा पर्यवेक्षक खटिने प्रवक्ता थापाले बताए । मिसनले ४० जनालाई एक महिना र १० जनालाई दीर्घकालीन पर्यवेक्षकका रुपमा परिचालन गराउने जानकारी अध्यक्ष रेग्मीलाई गराएको थियो ।

जापानी राजदूतसँग पनि भेट

शुक्रबारै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग नेपालका लागि जापानका राजदूत मासासी ओग्वाले सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबीच नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्रबहादुर थापाले बताएका छन् ।

आगामी मङ्गलबार हुने संविधानसभाको निर्वाचन र त्यसनिम्ति सरकारले गरेको तयारीबारे अध्यक्ष रेग्मीले जानकारी गराएको प्रवक्ता थापाले बताए । नेपालको सामाजिक–आर्थिक विकासमा जापानले निरन्तर सहयोग गर्ने प्रतिवद्धता राजदूत ओग्वाले व्यक्त गरेका थिए । गत साता राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका राजदूत ओग्वाको अध्यक्ष रेग्मीसँग भएको यो पहिलो शिष्टाचार भेट हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us