एक वर्षभित्रमा संविधानः पौडेल

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ८:५८ मा प्रकाशित

Ramchandra-Paudelम्याग्दी, २९ कात्तिक– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको निर्वाचनबाट एक वर्षभित्रमा समावेशी संविधान जारी हुने बताएका छन् । समावेशी संविधान निर्माणका लागि अन्य दलहरु सक्रिय नभएको भन्दै उनले नेपाली काँग्रेसको नेतृत्वमा एक वर्षभित्रमा मुलुकमा समावेशी संविधान जारी हुने दाबी गरे ।

नेपाली काँग्रेस म्याग्दीले चुनावी अभियानअन्तर्गत आज भगवती गाविसमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उपसभापति पौडेलले लोकतान्त्रिक संविधान निर्माणका लागि निर्वाचनमा काँग्रेसलाई बहुमत दिन आग्रह गरे । नयाँ संविधानमा दलित, जनजाति, गरिब, असहाय सबैको प्रतिनिधित्व हुने भन्दै उपसभापति पौडेलले त्यसको नेतृत्व काँग्रेसले गर्ने बताए । उनले सङ्घीय  स्वरुपको समावेशी संविधान जारी गर्ने र १० वर्षभित्र मुलुकलाई समृद्ध बनाउने लक्ष्य काँग्रेसले लिएको बताए ।

मुलुकमा कृषि क्रान्तिको सुरुवात, पर्यटन प्रवद्र्धन गर्नुका साथै जलविद्युत्का लागि आवश्यक लगानी बढाउँदै जाने र उचित वातावरण सिर्जना गर्न सकेमा मुलुकमा बेरोजगारको अन्त्य र आर्थिक समृद्धिको अभियान थालनी गर्न सकिने पौडेलको भनाइ थियो । उनले म्याग्दी जिल्ला पर्यटन र जलविद्युत्मा सम्भावना युक्त जिल्ला भएकाले यहाँको विकासका लागि जल, जङ्गल र जडीबुटीको समुचित व्यवस्थापन गर्दै जनतालाई आयमुखी बनाउनतर्फ काँग्रेसले पहल गर्ने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us