अबदेखि प्रचण्ड हरेक महिना कीर्तिपुर पुग्ने

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ८:२९ मा प्रकाशित

prachanda_communist_fistकाठमाण्डु, २९ कात्तिक– एकीकृत माओवादी अध्यक्ष प्रचण्ड संविधानसभा निर्वाचनपछि महिनामा एकपटक आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–१० को कीर्तिपुर पुग्ने प्रतिबद्धता जनाएका छन् ।

नागरिक अगुवाहरुले कीर्तिपुरमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । कार्यक्रमका सहभागीले यसअघि निर्वाचन जितेर गएपछि फर्किएर नआएको गुनासो प्रचण्डसँग गरेका थिए । प्रचण्डले विगतमा मुलुकको परिस्थिति, अनुभवको कमी र व्यक्तिगत स्वभाव तथा सीमाका कारण जितेर गएपछि मतदाताकोमा आउन नसकेको बताए ।

उनले कीर्तिपुरको विकासका लागि पूर्वप्रतिबद्धताअनुसार काम गर्ने सोच्दासोच्दै आफ्नो सरकार ढलेकाले काम गर्न नपाएको प्रष्टीकरण दिए । ‘विगतमा केही पनि काम भएनन् भन्ने होइन’, प्रचण्डले भने, ‘अब म जितेर गएपछि महिनामा एक दिन कीर्तिपुर आउनेछु ।’

उनले कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउने, त्यस क्षेत्रको विकास निर्माण तथा त्रिभुवन विश्वविद्यालयलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । आफूमा काम गर्ने इच्छाशक्ति अत्याधिक हुँदाहुँदै उत्प्रेरित गर्ने व्यक्तिको खाँचो रहेको भनाइ उनको थियो । ‘मुलुकका लागि धेरै गरौं भन्ने इच्छाशक्ति ममा छ’, प्रचण्डले भने, ‘तर मलाई उत्पेरित गर्ने र तैंले केही गर्न सक्छस् भन्ने मानिसको खाँचो छ ।’

प्रचण्डले कीर्तिपुर क्षेत्रको विसकाका लागि आफ्नै नेतृत्वमा क्षेत्रीय विकास निर्माण समन्वय समिति गठन गर्ने प्रतिबद्धता पनि जनाए । दुई महिनामा एक पटक समितिको बैठक बस्ने र बैठकले विकास योजनाको तर्जुमा तथा अघिल्ला योजना कार्यान्वयनको स्थितिको समेत समीक्षा गर्ने बताए ।
क्षेत्रीय विकास समितिले विकास निर्माणका काममा सहजता आउने र नेतृत्वसँग जनताको पहुँच स्थापित हुने प्रचण्डले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us