दार्चुलामा कस्ले मार्ला बाजी ?

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ४:३० मा प्रकाशित

दार्चुला, २९ कात्तिक–दार्चुला सदरमुकामदेखि गाउँसम्म अहिले चुनावी रौनकता छाएको छ ।  एउटामात्र निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा बजार थोरै र गाउँ धेरै छन् । भौतिक पूर्वाधारको विकास हुन नसकेको यो क्षेत्रका दूरदराजसम्म मत माग्न उम्मेदवारहरु अहिले गाउँका विकट बस्तीमा पुग्न थालेका छन् ।

एकीकृत नेकपा माओवादीका ललितसिँह ठगुन्ना, नेपाली काँग्रेसका केन्द्रीय पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडू, नेकपा एमालेका गणेश ठगुन्नालगायत अन्य साना पार्टीका १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै उम्मेदवारले आ–आफूले जित्ने दाबी गरिरहे पनि मतदाताले नेपाली काँग्रेसका प्रवक्ता बडू र एमाओवादीका ठगुन्नाबीच प्रतिस्पर्धा हुने बताएका छन् ।

यद्यपि एमालेका गणेश ठगुन्नाको पक्षमा पनि धेरै मत खस्ने स्थानीयको भनाइ छ । यहाँका मतदाताले बडू र एकीकृत नेकपा माओवादीका ठगुन्नाबीच प्रतिस्पर्धा हुने अड्कल गरेका छन् ।

दार्चुलामा २०६४ सालमा बडूभन्दा दोब्बर मत ल्याई विजयी भएका एमाओवादीका लक्ष्मी जोशी अहिले वैद्य माओवादी समर्थक बनेका कारण एमाओवादीलाई थप चुनौती खेप्नु परेको छ । नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्ना पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै प्रचारमा कस्सिनुभएको छ ।

यस वर्ष गएको बाढीबाट ठूलोे धनजनको क्षति बेहोरेको दार्चुलामा जुन पार्टीले पुनःस्थापना, विकास र जीविकोपार्जनको व्यवस्थाका लागि सम्बोधन गर्नसक्छ त्यो उम्मेदवारले जित्ने स्थानीयको अड्कल छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us