देशभर मतदाता परिचयपत्र बाँड्न सुरु

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ४:२५ मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु, २९ कात्तिक–निर्वाचन आयोगले संविधानसभाको निर्वाचनका लागि तयार गरेको फोटोसहितको मतदाता परिचयपत्र वितरण कार्य देशव्यापी रुपमा शुक्रबारबाट सुरु गरेको छ । मतदाता परिचयपत्र सबै गाउँ विकास समिति एवम् नगरपालिका क्षेत्रभित्रका मतदान केन्द्रमा कात्तिक २९, मङ्सिर १ र २ गते तोकिएको कर्मचारीले वितरण गर्ने आयोगले जनाएको छ ।

यसपटकको संविधानसभा निर्वाचनमा एक करोड २१ लाख ४७ हजार ८६५ मतदाता रहेका छन् । तीमध्ये पुरुष ५९  लाख ८८ हजार ८८, महिला ६१ लाख ६६ हजार ८२९ र तेस्रोलिङ्गी १५५ रहेका छन् ।

आयोगका प्रवक्ता वीरबहादुर राईले मतदाता आफै उपस्थित भएर र उपस्थित हुन नसकेको अवस्थामा घरको अन्य सदस्यले आधिकारिक परिचयपत्रका आधारमा वा राजनीतिक दलको प्रतिनिधिको सहभागिता वा रोहवरमा पनि परिचयपत्र वितरण गर्न सकिने बताए ।

आफूले मतदान गर्ने मतदान केन्द्रमा सम्पर्क गरी परिचयपत्र लिन आयोगले मतदातलाई अनुरोध गरेको छ ।

मतदाता नामावलीमा नाम दर्ता भएका तर कुनै कारणवश आफ्नो मतदाता परिचयपत्र प्राप्त गर्न नसकेको अवस्थामा आफ्नो नागरिकताको प्रमाणपत्र वा सवारीचालक अनुमतिपत्र वा राहदानी वा नेपाल सरकार वा सरकारको स्वामित्व भएको संस्थाले जारी गरेको परिचय खुल्ने फोटोसहितको प्रमाणपत्रबाट पनि मतदान गर्न सकिने आयोगले जनाएको छ ।

आयोगले एक करोड २१ लाख ४७ हजार ८६५ मतदाताको परिचयपत्र, रङ्गीन तस्विरसहितको मतदाता नामावली, प्रत्यक्षतर्फका लागि हल्का नीलो रङ्गको र समानुपातिकका लागि हल्का रातो रङ्गको तीन करोड मतपत्र, आवश्यक सङ्ख्यामा मतपेटिकासहित निर्वाचन सामग्री सबै जिल्ला सदरमुकाममा पु¥याइसकेको जनाएको छ । त्यस्तै १८ हजार ४३८ मतदान केन्द्रमा प्रयोग गरिने ६८ प्रकारका सामग्री र फोटोसहितको मतदाता परिचयपत्र जिल्ला सदरमुकामबाट १० हजार १३ मतदानस्थलमा पु¥याउने काम गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us