बसमा पेट्रोल बम प्रहार

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते २:३३ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– नेकपा–माओवादी नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द काठमाण्डु उपत्यकामा विफल भएको छ । प्रमुख र सहायक राजमार्गहरुमा सार्बजनिक तथा निजी सवारीका साधनहरु निर्वाधरुपमा चलिरहेका छन् ।

बन्दलाई विफल र चुनावलाई सफल पार्ने निर्णय गर्दै यातायात व्यवसायीले लामो र छोटो दुरीका सवारी साधनहरु चलाइरहेका छन् । प्रहरीले सुरक्षा व्यवस्था पनि कडा पारेको छ । नेपाली सेना, सशस्त्र, जनपद र म्यादी प्रहरीहरु ठाउँ ठाउँमा खटाइएको छ । शंकास्पद स्थानमा निगरानी बढाउने र सर्च गर्ने काम पनि जारी रहेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । यसैक्रममा काठमाण्डुको बालाजुबाट पेट्रोल बमसहित एकजनालाई पक्राउ गरेको आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त बहादुर पालले जानकारी दिए ।

बसमा पेट्रोल बम प्रहार

मकवानपुरको बसामाडी ३ ताप्केमा विहीबार राती यात्रुबाहक बसमा पेट्रोल बम प्रहार भएको छ । बम लागेर १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारकालागि चितवनको भरतपुर अस्पताल लगिएको छ । अन्य घाइतेको भने हेटौडा र वीरगन्जका अस्पतालमा उपचार भैरहेको छ ।

बारा सदरमुकाम कलैयाबाट काठमाण्डुका लागि छुटेको ना ४ ख ९८६३ नम्बरको बसमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us