मतदातालाई दैनिक भोज भतेर

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते २:०५ मा प्रकाशित

sindhuli-Mapसिन्धुली, २९ कात्तिक–सिन्धुलीमा चुनाव प्रचार प्रसारको क्रममा ब्यापक आचार संहिता उल्लंघन भएको छ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले लगायत सबैजसो दलका उम्मेदवारहरुले दैनिकरुपमा भोजभतेर गर्छन् ।

नेपाली काँग्रेस आचार संहिता उल्लंघनमा सबैभन्दा अगाडि देखिएको छ । काँग्रेस क्षेत्र नं. २ का उम्मेदवार मोहनप्रसाद बराल मतदातालाई प्रलोभनमा पार्ने कामको अग्रस्थानमा रहेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार बरालले टोलटोलमा भोज खुवाउने, सार्वजनिक स्थानमा होर्डिङ बोर्ड राख्ने, बालबालिकालाई पोष्टर पम्पेलट टाँस्न प्रयोग गर्ने तथा र्‍यालिमा सहभागि गराउने, युवाहरुका मोटरसाइकलमा पेट्रोल हालिदिने र पैसा बाँड्ने जस्ता कार्य गरिरहेका छन् ।

यही कात्तिक २१ गते रानिचुरी गाविसको चुनावी सभाको नाममा वडा नं. ७ निवासी तिलकबहादुर बरालको घरमा खसी काटेर उनले मतदातालाई भोज खुवाएका थिए । ‘चुनावी सभा भनेर बोलाईयो तर खसी काटेर भोज लगाएको रहेछ,’ एक स्थानीयले भने, ‘मदिरा सहितको भोज पछि केहि कार्यकताहरुले नेपाली काँग्रेसलाई भोट हाल्न निर्देशनात्मक अभिव्यक्ति दिए ।’

बरालले मंगलबार कमलामाई नगरपालिका १० करकरेमा, बुधवार रातमाटामा दिपक मिश्रको घर छेउँमा र कमलामाई नगरपालिका ५ को ढकालगाउँको मन्दिर छेउमा खसी काटेर भोज खुवाइएको थियो ।

यसरी दैनिक आचार संहिता विपरित गाउँगाउँमा उम्मेद्वारको उपस्थितिमा मदिरा सहितको भोज कार्यक्रम भई रहदा पनि जिल्ला निर्वाचन अधिकृतको कार्यालय चुपचाप बसीरहेको छ । उजुरी नपर्दासम्म आफूले केही गर्न नसक्ने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us