उम्मेदवारहरु भत्ता र भाडामा कार्यकर्ता खोज्दै

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १:४८ मा प्रकाशित

Paisaगौशाला, २९ कात्तिक–संविधानसभा निर्वाचन प्रचारका लागि महोत्तरीका उम्मेदवारहरुले भत्तामा कार्यकर्ताहरु खोज्दै छन् । निर्वाचन आउन चार दिन मात्रै बाँकी रहँदा उम्मेदवाहरुले आ–आफ्ना पक्षमा ठूलो जनसमूह रहेको देखाउनका लागि भत्तामा कार्यकर्ताहरु खोज्न थालेका हुन् ।

उम्मेदवारहरुले नारा, जुलुश, मोटरसाइकल र्‍याली, जनसभा, आमसभा, कोणसभा र घरदैलो कार्यक्रमका लागिसमेत भत्तामा कार्यकर्ता खोज्न थालेका छन् भने कतिले त ठूलो समूहमा दुई–चार दिन पहिलेदेखि पनि भत्ताका कार्यकर्ताहरु प्रयोग गरिरहेको देख्न पाइन्छ ।

उम्मेदवारसँग समय कम रहेको कारण सबै ठाउँमा आफैले घुम्न नसकेको अवस्थामा उनीहरुले मोटरसाइकल भएका कार्यकर्ताको गाडीमा पेट्रोल हालिदिएर र गोजीमा चार–पाँच सय रुपैयाँ दिएर गाउँगाउँमा विभिन्न पार्टीका झण्डा बोकेका मोटरसाइकल कुदाएका छन् । भाडाका कार्यकर्ताहरुलाई उम्मेदवारको नाउँमा जिन्दावाद भन्न लगाउने र जित्ने उम्मेदवार रहेकाले भारी मत दिनुस् भन्दै भोटसमेत माग्न लगाएको देख्न पाइन्छ ।

उम्मेदवारले कार्यकर्ताको स्तर हेरेर न्युनतम तीन सयदेखि अधिक्तम पाँचसय रुपैयाँ दैनिक भत्तामा भाडाका कार्यकर्ता प्रयोग गरीरहेका छन् । एउटै कार्यकर्ता आज एउटा पार्टीको झण्डा बोकेको देखिन्छ त भोलि अर्काको झण्डा बोकेको हेर्न सकिन्छ । महोत्तरीका छवटै निर्वाचन क्षेत्रमा यस्तो कार्य भइरहेको छ । क्षेत्र नम्बर–३ जिल्ला सदरमुकाम परेको क्षेत्रमा यस्तो क्रियाकलाप बढी मात्रामा भइरहेको देखिएको छ ।

भत्ता र भाडामा कार्यकर्ता प्रयोग गर्नेमा संविधानसभा निर्वाचनमा भाग लिएका ठूलादेखि साना सबै दलका नेताहरु रहेको महोत्तरीका बुद्धिजीवी, नागरिक समाज र अधिकांश मतादाताहरुको आरोप छ । तर, यसको अनुगमन र कार्वाही गर्ने जिम्मेवारी पाएको निर्वाचन अधिकृतको कार्यालयहरुमा लिखित उजूरी नपर्दा यस्तो क्रियाकलापलाई रोक्न त्यहाँबाट कुनै पहल नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us