धमाधम उपत्यका बाहिर जाँदैछन् मतदाताहरु

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १:५४ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक–संविधानसभाको निर्वाचन केही दिनमात्रै बाँकी रहँदा काठमाण्डु उपत्यका बाहिरका मतदाताहरु बाहिरिने क्रम सुरु भएको छ ।
निर्वाचनलाई लक्षित गरेर निर्वाचन बहिष्कारको पक्षमा रहेको ३३ दलीय मोर्चाले आयोजना गरेको बन्दका क्रममा पनि दैनिक लामो दूरीका सवारी साधनहरु सञ्चालन भइरहेका छन् ।
अधिकांश मतदाता दशैँ तिहारमा घर गएकाले एकैचोटी निर्वाचन सकेर आउने योजनामा रहेका छन् भने कतिपय मतदाता कामविशेष, अत्यावश्यक सेवा तथा कर्मचारीहरु अहिले आ–आफ्नो जिल्लातर्फ जान थालेका छन् ।
निर्वाचनको सँघारमा केही दिनदेखि बन्दको सामना गरिरहे पनि ठूलो सङ्ख्यामा सवारी साधन र यात्रुहरु बाहिरिएका छन् ।
महानगरीय ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार नागढुङ्गा नाकाबाट बुधवार मात्रै ६ हजार १९१ यात्रु उपत्यका बाहिरिएका थिए भने पाँच हजार १४ यात्रु उपत्यका भित्रिएका थिए । बिहिवारसाँझसम्मको विवरणअनुसार एक हजार २३ वटा सवारी साधन बाहिरिएका छन् भने ८३९ उपत्यका भित्रिएका छन् ।
यस्तै फर्पिङ नाकाबाट बिहिवार २०७ सवारी साधन बाहिरिएका छन् भने १९१ भित्रिएका छन् । भक्तपुर नाकाबाट २२४ सवारी साधन बाहिरिएका छन् ।
यातायात व्यवसायी महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले अधिकांश मतदाता दशैँ तिहारमै घरमा गएकाले उनीहरु मतदान गरेर मात्र फर्कने भएकाले काम विशेषले उपत्यकामा रहेका मतदाताहरु क्रमशः बाहिरिने क्रम बढेको बताए ।
मतदातका सुविधाका लागि लामो दूरीका सवारी साधन निर्वाधरुपमा सञ्चालनका लागि महासङ्घले पहल गरिरहेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us