पकड देखाउन ठूला नेता भित्र्याउने होड

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १:४३ मा प्रकाशित

संखुवासभा, २९ कात्तिक–पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रमुख तीन दलले संविधानसभा निर्वाचनमा आफ्नो पकड बलियो देखाउन केन्द्रीय तथा लोकप्रिय नेतालाई जिल्ला भित्र्याउने होड चलाएका छन् ।

कसलाई भोट दिएर जिताउने भन्नेमा जनताा अलमलमा परिरहेको बेला जिल्लामा रहेका प्रमुख तीन दलका उम्मेदवारले आफूतिर मत तान्नका लागि केन्द्रीय तथा जनतामाझ लोकप्रिय नेता भित्र्याउने होड चलाएका हुन् । दुईवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा विशेषगरी क्षेत्र नम्बर २ का उम्मेदवारले केन्द्रीय तथा लोकप्रिय नेता भित्र्याउन थालेका हुन् ।

एकीकृत नेकपा माओवादीले कात्तिक १० गते पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई क्षेत्र नम्बर २ को चुनावीसभालाई सम्बोधन गर्न ल्याएको थियो भने नेपाली काँग्रेसले कात्तिक २७ गते पार्टी सभापति सुशील कोइराला र युवानेता गगन थापालाई क्षेत्र नम्बर २ कै चुनावीसभामा सम्बोधन गर्न भित्र्याएको थियो ।

त्यस्तै नेकपा एमालेले पनि कार्यकर्ता र जनतामाझ आफ्नो पकड बलियो देखाउन स्वर्गीय मदन भण्डारीकी श्रीमती तथा पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई क्षेत्र नम्बर १ र २ को चुनावीसभालाई सम्बोधन गर्न मङ्सिर १ गते ल्याउने भएको छ ।

क्षेत्र नम्बर १ को चुनावी सभालाई भने अहिलेसम्म तीनवटै प्रमुख दलका कुनै पनि केन्द्रीय तथा प्रभावशाली नेताले सम्बोधन गरेका छैनन् । क्षेत्र नम्बर १ मा ठूला नेताले चुनावी सम्बोधन नगरेका कारण नेकपा एमालेले विद्या भण्डारीलाई ल्याउने भएपछि एकीकृत माओवादीले पनि क्षेत्र नम्बर १ को चुनावीसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ल्याउने बताएको छ ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us