युनेस्को कार्यकारी बोर्डमा नेपाल निर्वाचित

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १:३८ मा प्रकाशित

Nepal-Flagकाठमाण्डु ,२९ कात्तिक–संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन (युनेस्को)को कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित भएको छ ।

युनेस्कोको ३७ औं सभाको क्रममा पेरिसमा भएको निर्वाचनमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालसँगै उक्त क्षेत्रबाट चीन, भारत, जापान, बंगलादेश र तुर्कमेनिस्तान विजयी भएका छन् । आगामी सन् २०१६ सम्म युनेस्कोको कार्यकारी बोर्डमा रहेर यी मुलुकले संस्कृति प्रवद्र्धन, लैंगिक समानता, महिला सशक्तीकरण, सम्पदा संरक्षणलगायत क्षेत्रमा अन्य राष्ट्रसङ्घीय निकाय र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्नेछन् ।

नेपालले युनेस्कोको सदस्यता सन् १९५३ मा प्राप्त गरेको हो । यसअघि दुईपटक नेपाल उक्त बोर्डको सदस्य रहिसकेको छ । बजेट, प्रशासनिक एवम् वित्तीय मामलासम्बन्धी युनेस्कोको उच्च अंगमा पनि नेपालले उपाध्यक्षको हैसियतमा काम गरिसकेको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको संरक्षणलगायत विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्थानको संरक्षणमा युनेस्कोले नेपाललाई सहयोग गर्दै आएको छ । विश्व शान्ति प्रवद्र्धनमा पनि उक्त संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us