भारतीय ट्रकमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १:२९ मा प्रकाशित

बुटवल, २९ कात्तिक–रुपन्देहीको बुटवल नगरपालिका–७ स्थित थोक तरकारी तथा फलफूल बजार केन्द्र परिसरमा भारतबाट तरकारी बोकेर आएको एउटा ट्रकमा आगजनी भएको छ ।  भारतीय नम्बर प्लेटको एमएच १८ एए ७९४७ नं. को ट्रकमा विहीबार राती अज्ञात समूहले आगजनी गरेको केन्द्रका अध्यक्ष कलाधर पन्थीले जानकारी दिए ।

भारतबाट स्थानीय व्यापारी जोगन्द्र बानियाको प्याज लिएर थोक बजार केन्द्रभित्र ट्रक प्रवेश गरेको करिब १५ मिनेटमै तीनवटा मोटरसाइकलमा आएका व्यक्तीले आगजनी गरी फरार भएका थिए । आगजनीबाट ट्रकको सिसा र टायरमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले भने आगजनी भएको जानकारी आउनासाथ प्रहरी परिचालन गरिएको र आगजनी गर्नेहरुको खोजी जारी रहेको जनाएको छ ।

बसमा आगजनी

यसैगरी भक्तपुर नगरपालिका–४ को कमलविनायक महालक्ष्मी स्थानमा रोकीरहेको एक यात्रुबाहक बसमा विहीबार राति आगजनी भएको छ । मध्य–उपत्यका बस व्यावसायी सङ्घद्वारा सञ्चालनमा आएको बा.२ ख. ७७६० नम्बरको यात्रुबाहक बसमा अज्ञात समूहले पेट्रोल छर्केर आगो लगाएको हो ।
बसमा आगो लगाएलगत्तै आगो लगाउने समूह भने फरार भएको छ । बसमा आगो लागेपछि स्थानीयवासीले दमकललाई खबर गरेका थिए । दमकलले बसको आगोलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us