हिंसात्मक घटनामा दोषी ठहर्‍याउँदै सरकार ३३ दलीय मोर्चाका नेता पक्रने तयारीमा

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १८:०६ मा प्रकाशित

काठमाण्डु – संबिधानसभा निर्वाचन बिथोल्न बन्द आब्हान गरेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई आगजनी र बिष्फोटका घटनाको जिम्मेवार ठहरयाउँदै सरकारले कारबाही गर्ने योजना बनाएको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले सिंहदरवारस्थित आफै कार्यकक्षमा बिहिवार बोलाएको सुरक्षा बैठकले मोर्चाका गतिबिधिले अपराधिक चरित्र ग्रहण गरेको भन्दै त्यस्ता गतिबिधि सञ्चालन गर्न निर्देशन दिने र सञ्चालन गर्ने दुवैलाई कार्वाही गर्ने योजना बनाएको हो ।

बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, मुख्य सचिव लीलामणि पौडेल, प्रधानसेनापति गौरब शम्शेर जबरा, गृहसचिव जनार्दन नेपाल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङ्ग, कार्यवाहक प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायत सुरक्षासँग सम्बद्ध अधिकारीहरु सहभागी थिए ।

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका सल्लाहकार बिमल गौतमको प्रेस बिज्ञप्ति यस्तो छ

मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मीज्यूले देशको विभिन्न स्थानका पछिल्ला दिनका शान्तिसुरक्षा स्थिति र संविधानसभा निर्वाचनको लागि सुरक्षा व्यवस्थाको तयारीका बारेमा जानकारी लिने उद्देश्यले आव्हान गर्नुभएको सुरक्षा बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ ।

सुरक्षा बैठकमा आगामी मंसिर ४ गते सम्पन्न हुने संविधानसभा निर्वाचन बहिष्कार गर्ने नेकपा–माओवादी लगायतका समूहले आव्हान गरेको भनिएको यातायात बन्दको क्रममा देशका विभिन्न स्थानहरुमा गरेको अवरोध, आगजनी, विष्फोट, आक्रमण लगायत विध्वसांत्मक कार्यहरुबाट भएको भौतिक सम्पत्तिको क्षति र सार्वजनिक स्थानहरुमा मानिसहरुको आवागमनमा लक्षित गरी भएका प्रहारबाट घाइते र अंगभंगहरुको अवस्थाप्रति गम्भीर छलफल भएको छ ।

बैठकमा आगामी मंसिर ४ गते सम्पन्न हुने संविधानसभा निर्वाचनलाई अवरोध पु¥याउन उद्दत रहेका बहिष्कारवादी समूहले गरेको कार्य राजनीतिक चरित्रको नभई विशुद्ध आपराधिक प्रकृतिका कार्य भएकाले यसप्रकारका आपराधिक गतिविधिलाई नियन्त्रण गर्दै दोषीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।

मुलुकलाई शान्ति, स्थायित्व र विकासको पथमा अघि बढाउने निर्विकल्प माध्यमका रुपमा रहेको संविधानसभा निर्वाचनको कार्यक्रमलाई बहिष्कार गर्दै आव्हान गरेको भनिएको हड्तालको आमजनसमुदायबाट भएको स्वःस्फूर्त अवज्ञाबाट विक्षिप्त भई उद्योगी, व्यवसायी लगायत आमजनसमुदायलाई सहज रुपमा यातायात सञ्चालन गर्न नदिई गरिएका सबै गैरकानूनी क्रियाकलापहरुको दायित्व बन्द आव्हानकर्ताको हुने बैठकको निष्कर्ष रहेको छ । शान्तिपूर्ण आन्दोलन गर्छु भनी दावी गर्ने तर आमजनसमुदायले बन्दको स्वःस्फूर्त अवज्ञा गर्दा उनिहरुलाई लक्षित गरी विष्फोटक पदार्थ प्रहार गर्ने लगायतका आपराधिक प्रकृतिका कार्य बन्दकर्ताबाट नै भएको पनि बैठकको निष्कर्ष छ । हिँसात्मक क्रियाकलापमार्फत सार्वजनिक शान्ति र सुव्यवस्थालाई प्रभावित पार्ने कार्यको कानूनी दायित्व अन्यथा प्रमाणित नभएसम्म बन्द आव्हान गर्ने समूहको नै हुनेहुँदा सबै हिँसात्मक घटनाहरु आफ्नो समूहले नगरेको भनी बन्दकर्ताले राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायसामु दावी गरेतापनि त्यस्तो कुनैपनि भ्रममा कोही नरहेको बैठकमा विश्लेषण भएको छ । बन्द आव्हान गर्ने समूहका क्रियाकलापलाई सुक्ष्म निगरानी गर्दै हिँसात्मक कार्यमा संलग्न व्यक्तिहरुलाई सुरक्षा निकायले नियन्त्रणमा लिई कानूनी कारबाही थालेको र यस्तो कार्य गर्न आदेश दिने, दुरुत्साहन गर्ने र त्यस्तो आदेश वा दुरुत्साहनको कार्यान्वयन गर्ने सबै कानूनी रुपमा जिम्मेवार हुने समेत बैठकको निष्कर्ष छ ।
गृहमन्त्री माधवप्रसाद घिमिरे, मुख्य सचिव लीलामणि पौडेल, प्रधानसेनापति गौरब शम्शेर जबरा, गृहसचिव जनार्दन नेपाल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङ्ग, कार्यवाहक प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायत सुरक्षासँग सम्बद्ध अधिकारीहरु सम्मिलित उक्त बैठकमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले देशका विभिन्न स्थानहरुमा भएका हिँसात्मक घटनाहरुप्रति संवेदनशील हुँदै समग्र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै हिँसात्मक कार्यलाई नियन्त्रण गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचनपूर्वका केही दिनहरु अत्यन्त महत्वपूर्ण रहेको र यस अवधिमा बन्दकर्ता समूहबाट भएका हिँसात्मक घटनाहरुबाट कत्तिपनि विचलित नभई धैर्य, संयमता र आत्मविश्वासका साथ निर्वाचन कार्यक्रम सम्पन्न गर्नुपर्ने बताउँदै निर्वाचन प्रक्रियामा अग्रसर हुन सबै नेपाली दिदीबहिनी तथा दाजुभाइ, राजनीतिक दल, व्यावसायिक संघसंगठन, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायत आमजनसमुदायमा आग्रह गर्नुभएको छ । साथै, उहाँले सम्पूर्ण नागरिकहरुको मताधिकार सुनिश्चित गरी स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न गर्न मतदान केन्द्र, निर्वाचनमा संलग्न कर्मचारी, निर्वाचन सामाग्री, उम्मेदवार तथा आम मतदाताको सुरक्षाको बन्दोवस्त प्रभावकारी रुपले व्यवस्थापन गरिएकोले निर्धक्क भई ढुक्कका साथ मतदानमा सहभागी भई राजनीतिक संक्रमणकालको एकमात्र निकास संविधानसभाको निर्वाचनको महाअभियानलाई सफल पार्न सम्पूर्ण मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

२०७० कार्तिक २८ गते, बिहिबार ।
विमल गौतम
मन्त्रिपरषिद् अध्यक्षका प्रेस सल्लाहकार

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us