वैद्य मोर्चा सडकमा आउने

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– संविधानसभा निर्वाचन बहिस्कारका लागि चक्काजाम घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय mohanमोर्चाका कार्यकर्ता सडकमा आउने भएका छन् ।
३३ दलीय मोर्चाको बिहीबार बसेको कार्यदल बैठकले निर्वाचन बहिस्कार आन्दोलन थप शसक्त बनाउने निर्णय गरेको हो ।  कात्तिक २५ गतदेखि देशव्यापी चक्काजाम घोषणा गरे पनि प्रहरीले पक्राउ गर्न सक्ने भन्दै सडकमा कोही देखिएका छैनन् ।

सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पाले आन्दोलन थप सशक्त बनाउने निर्णय कार्यदलले गरेको जानकारी काठमाण्डु टुडेलाई दिए । शेर्पाका अनुसार बैठकले आफूहरुको चक्काजामका क्रममा देशभर भएका हिंसात्मक घटनामा आफूहरुको संलग्नता नरहेको दाबी गरेको छ ।

शेर्पाले मोर्चा हिंसात्मक आन्दोलनका पक्षमा नरहे पनि आन्दोलनमा घुसपैठ भएको जिकिर गरे । ‘हामी हिंसात्मक आन्दोलनका पक्षमा छैनौं’, शेर्पाले भने, ‘चक्काजामका क्रममा भएका विस्फोटजस्ता घटनामा हाम्रो संलग्नता छैन ।’

शेर्पाले आफूहरुलार्य बदनाम गराउने उद्देश्यका साथ सरकार र निर्वाचनको पक्षमा रहेका मुख्य चार दलका कार्यकर्ताले हिंसात्मक गतिविधि गरेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us