
काठमाण्डु, २८ कात्तिक– सरकारले संविधानसभा निर्वाचन बिथोल्नका लागि बम विष्फोट तथा आगजनीका घटनाहरु आतंककारी शैलीमा भइरहेको भन्दै सुरक्षा अवस्थालाई संवेदनशील रुपमा हेरिएको बताएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयले निर्वाचन बिथोल्ने नाममा आतंक फैलाउनेहरुलाई कडा कानुनी कारबाही गर्ने पनि बताएको छ । पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले सुरक्षा अवस्थालाई निकै संवेदनशील रुपमा हेरेका उल्लेख गर्दै सार्वजनिक यातायातमा आगजनी गर्नु, सार्वजनिक स्थलमा विष्फोट गराउनु आतंककारी गतिवधि रहेको स्पष्ट पारे ।
उनले भने, ‘आतंककारी शैलीमा विष्फोट र आगजनीहरु भइरहेका छन्, हामीले विष्फोट गर्ने मात्र होइन योजना बनाउनेलाई समेत पक्राउ गर्छाै र कारवाही गर्छौ ।’ गृहले अहिलेसम्म विभिन्न स्थानबाट १९१ जना पक्राउ गरेको जनाउँदै २६ जनालाई सार्वजनिक ऐन अन्तरगत मुद्धा चलाइएको बताएको छ । पक्राउ गरिएकामध्ये ३२ जनालाई सामान्य सोधपुछपछि छाडिएको र बाँकी उपर अनुसन्धान भइरहेको बताएको छ । काठमाण्डुबाट मात्रे ८६ जना पक्राउ गरिएको जनाएको छ ।
साथै एकीकृत सुरक्षा रणनीति २०७० अनुसार हवाई गस्ती तथा मोबाइल गस्ती जारी राख्दै सुरक्षा मजबुद बनाएको गृहले जनाएको छ । विशेषगरी गहृले सीमा क्षेत्र, राजमार्ग, सहायक राजमार्ग मतदान केन्द्रमा सुरक्षा कडा पारेको छ । साधार पोसाकमा पति उत्तिकै सुरक्षाकर्मीहरु खटाएर देशैभरको सुरक्षा अवस्था मजबुद बनाएको गृहको दाबी छ ।