
काठमाण्डु, २८ कात्तिक– काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टीका पक्षमा ०१५ सालको पहिलो संसदीय निर्वाचनमा जस्तै जनलहर देखिएकाले यसपटकको निर्वाचनमा दुई तिहाई बहुमत आउने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबले उनकै निवास महाराजगञ्जमा बिहीबार गरेको साक्षात्कारमा उनले ०१५ सालमा जस्तै शान्तिपूर्ण निर्वाचन भए काँग्रेसका पक्षमा दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । ‘२०१५ सालमा जस्तै अहिले पनि काँग्रेसको पक्षमा त्यस्तै लहर छ’, कोइरालाले भने, ‘शान्तिपूर्ण निर्वाचन भए काँग्रेसको पक्षमा दुई तिहाई बहुमत आउँछ ।’
सभापति कोइरालाले नेकपा–माओवादीलाई आफूले गरेको प्रतिबद्धता अनुसार बहिस्कारलाई शान्तिपूर्ण बनाउन आग्रह गरे । कोइरालाले निर्वाचनअघि नेकपा–माओवादीसँग वार्ता र सहमतिको कुनै सम्भावना नरहेको स्पष्ट गरे ।
मुलुक निर्वाचनको माहोलमा होमिइसकेकाले निर्वाचन स्थगनको माग गर्ने शक्तिसँग वार्ता र संवाद हुन नसक्ने उनको भनाइ थियो । उनले कसैले चाहेर पनि निर्वाचन नरोकिने दोहोर्याए ।
‘जनता निर्वाचनमा होमिएका छन्, अब निर्वाचन रोक्न सम्भव छैन’, कोइरालाले भने, ‘म मरे पनि निर्वाचन रोकिनु हुँदैन ।’ कोइरालाले नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन सकिने र त्यसका लागि काँग्रेसले पहल गर्ने उल्लेख गरे ।
वैद्यलाई संविधान निर्माण प्रक्रियामा ल्याउने विधि र प्रक्रियाबारे भने उनले केही खुलाएनन् । उनले आफ्ना कार्यकर्तालाई संयम हुन र कसैले औंला ठड्याउने गतिविधि नगर्न दिर्नेशन दिए । उनले एकीकृत माओवादी अध्यक्ष प्रचण्डमाथि कैलालीमा भएको आक्रमणको निन्दा गरे ।