ललितपुरमा मतदाता परिचयपत्र दिइन थालियो

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ९:०३ मा प्रकाशित

ललितपुर, २८ कात्तिक– संविधानसभा निर्वाचनका लागि ललितपुर जिल्लामा फाटोसहितको मतदाता परिचयपत्र वितरण सुरु भएको छ । देशका अन्य स्थानमा भने कात्तिक २९ तथा मंसिर १ र २ गते परिचयपत्र वितरण हुँदैछ ।

परिचयपत्र वितरण कार्यको क्षेत्र नं ३ का प्रमुख निर्वाचन अधिकृत टेकनारायण कुँबरले पूर्व एआइजी गोविन्दबहादुर थापालाई मतदाता परिचयपत्र दिई सुरु गरेका थिए । तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा कुल मतदाता सङ्ख्या दुई लाख १९४ जना रहेको छ । जिल्लामा २९४ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख शान्ता नेपालले जानकारी दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले निर्वाद तरिकाले सम्पूर्ण मतदातालाई परिचयपत्र लिई आफ्नो अधिकारको प्रयोग गर्न आग्रह गरे । परिचयपत्र शुभारम्भ कार्यक्रममा प्रजिअ श्रेष्ठले सबै मतदातालाई परिचयपत्र लिई मङ्सिर ४ को निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।

बिहिबारबाट सुरु गरिएको परिचयपत्र वितरण कार्य मङ्सिर २ गतेसम्म सञ्चालन रहनेछ । जिल्लाले तोकेको निर्वाचन अधिकृत र सहायक अधिकृतवाट परिचयपत्र वितरण गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us