प्रचण्डले भने: ‘नक्कली बम पड्काउँदैमा निर्वाचन भाँडिन्न’

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ११:५५ मा प्रकाशित

prachanda parbatपर्वत, २८ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बम पड्काएर चुनाव भाँड्ने सपना नदेख्न मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई आग्रह गरेका छन् ।

पर्वतको हुवास हातेमालोचोकमा बिहीबार भएको चुनावीसभामा उनले बन्द र बमले निर्वाचन नरोकिने बताए । उनले बम राख्ने र जिम्मेवारी नलिने अराजनीतिक गतिविधि गरेर जनता आतंकित पार्न काम नगर्न पनि नेकपा–माओवादीको नेतृत्वलार्इ अपिल गरे ।

प्रचण्डले कुनै पनि हालतमा ४ मंसिरमा संविधानसभा निर्वाचन गराएरै छाड्ने भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई अपिल गरे । ‘मंसिर ४ गते निर्वाचन हुन्छ, ढुक्क भएर मतदान गर्नुस्’, प्रचण्डले भने, ‘नक्कली बम पड्काउँदैमा दलहरु चुनावबाट भाग्ने पक्षमा छैनन् ।’

प्रचण्डले देशव्यापी रुपमा आफ्नो पार्टीका पक्षमा जनलहर आएको देखेर आत्तिएको वैद्य पक्षले निर्वाचन भाँड्ने उद्देश्यले बम आतंक मच्चाएको टिप्पणी गरे । प्रचण्डले दुई माओवादी मिलेर संविधानसभामार्फत क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सक्ने अवस्था अझै रहेको भन्दै सहमतिमा आउन वैद्य माओवादीलाई अपिलसमेत गरे ।

उनले आफ्नो पार्टीका पक्षमा बहुमत आउने अवस्था देखिएको दाबी दोहोर्‍याए । एक वर्षभित्र संविधान जारी गरी स्थायी सरकारमार्फत मुलुकको कायापलट गर्न सक्ने विचार र नेतृत्व आफ्नो पार्टीसँग रहेको भनाइ उनको थियो ।

भूतपूर्व साथीहरु ‘बामपुड्के’

पोखरा– एकीकृत माओवादी  प्रचण्डले सिङ्गो देश अहिले संविधानसभा निर्वाचनका लागि जुरुक्क उठेको बेला निर्वाचनको विरोध गर्ने सबै ‘बामपुड्के’ भएको टिप्पणी गरेका छन् ।

‘मेरा भूतपूर्व साथीहरुले यातायातको चाप नहोस् भनेर मेरा सुविधाका लागि बन्दका कार्यक्रम राखेका हुन्,’ उनले भने, ‘उनीहरुको यसो गरेर मलाई राष्ट्रको नेता ठानी तोपको सलामी दिएको हुन सक्छ ।’ एमाओवादी कास्कीद्वारा बिहिबार पोखराको अमरसिंह चौरमा आयोजित आमसभालाई सम्बोधन गदै प्रचण्डले जनताले चुनाव विरोधीहरुको पहिल्यै पहिचान गरिसकेको बताए ।

त्यस्तै स्याङ्जाको पुतलीबजारमा आयोजित चुनावीसभामा प्रचण्डले आफूहरु नेपाली का“ग्रेस र नेकपा एमालेसहितका दलहरुको घेराबन्दीमा परेकाले अघिल्लो संविधानसभाबाट संविधान जारी गर्न नसकेको बताए ।

‘अघिल्लो संविधानसभामा एमाओवादीसँग जनताले धेरै अपेक्षा गरेका थिए’, उनले भने, ‘मुलुकको परिवर्तन नचाहेका काँग्रेस र एमालेजस्ता दलको घेराबन्दीका कारण हामीले जनअपेक्षा अनुरुप काम गर्न सकेनौं ।’

बिहिबारै लमजुङ पनि पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले लमजुङ–१ र २ को संयुक्त चुनावीसभामा अबको संविधानसभा निर्वाचन अन्तिम निर्वाचन हुने बताए । उनले एमाओवादीका उम्मेदवारलाई जिताए पार्टी मुख्यालय र सिंहदरबारसम्म जनताको पहुँच पुग्ने भन्दै लमजुङ जिल्लाको विकासका लागि एमाओवादीको विकल्प नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us