सप्तरी, २८ कात्तिक– विभिन्न दल र स्वतन्त्र पुरुष उम्मेदवारसँगै चुनावी मैदानमा रहेका सप्तरीका महिला उम्मेदवारले चुनाव आफूले जित्ने दाबी गरेका छन् । पार्टीगत सिद्धान्त र व्यक्तिगत प्रभावका कारण आसन्न संविधानसभा निर्वाचनमा आफूले जित्ने महिला उम्मेदवारले दाबी गरेका हुन् ।
सप्तरी–१ का नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मीकुमारी गिरीले आफ्नो पार्टीले लिएको राजनीतिक सिद्धान्त र आफ्नो व्यक्तिगत प्रभावले गर्दा आफूले चुनाव जित्ने निश्चित रहेको बताउछिन् । पुरुष उम्मेदवारहरु पटक पटक जिते पनि जनताका लागि उपलब्धिमूलक काम गर्न नसकेकाले जनताले यसपालि आफूलाई जिताउने उनको भनाइ छ ।
यस्तै सप्तरी–२ का तराई मधेस सद्भावना पार्टीका उम्मेदवार कवितादेवी प्रमाणीले आफ्नो पार्टीले मधेसको अधिकारका लागि अपनाइएको सिद्धान्त र रणनीतिका कारण यहाँका मतदाताले आफ्नो पार्टी र आफूलाई जिताउने दाबी गर्छिन् । आफ्नो क्षेत्रबाट पुरुष उम्मेदवारहरु बढी भएकाले उनीहरुबीच मत विभाजन हुने र आफूले चुनाव जित्ने उनको तर्क छ ।
सप्तरी क्षेत्र नं ३ का एमाले उम्मेदवार मन्जुदेवी साह अहिले एमालेले लिएको राजनीतिक सिद्धान्त र आफ्नो स्वच्छ छविले गर्दा आफूले चुनाव जित्नेमा निर्धक्क रहेको बताउछिन् । सोही क्षेत्रकी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का उम्मेदवार बिन्दुकुमारी यादवले आफ्नो पार्टीको नीति सिद्धान्त पनि राम्रो भएको र आफू जनताको बीचमा लामो समयदेखि सेवा पु¥याएकाले जनताले आफूलाई मत दिने विश्वास व्यक्त गर्छिन् ।
क्षेत्र नं ४ का मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार रेणुकुमारी यादवले मधेस र मधेसीको अधिकार दिलाउने एकमात्र आफ्नो पार्टी भएको जनताले राम्ररी बुझेको र आफू सक्षम र जुझारु महिला भएकाले यसपालि पनि मतदाताले आफूलाई जिताउने बताउछिन् ।
सोही क्षेत्रका तराई मधेस लोकतान्त्रिक पार्टीका उम्मेदवार पुष्पा ठाकुरले आफू सचेत र स्वच्छ उम्मेदवार भएकाले यो क्षेत्रबाट चुनाव जित्ने दाबी गर्छिन् ।
एकीकृत माओवादीको सप्तरी–५ का उम्मेदवार सरस्वती चौधरी यसअघिको निर्वाचनमा सो क्षेत्रबाट पराजित भएकी थिइन् । विगतको संविधानसभामा माओवादीको दुई तिहाई बहुमत नआएकाले काँग्रेस र एमालेका कारण संविधान बन्न नसकेको जनताले राम्ररी बुझेकाले यसपालि यस क्षेत्रका मतदाताले आफूलाई जिताउने उनको भनाइ छ ।
उनीहरुसँगै सप्तरीको छवटै निर्वाचन क्षेत्रमा विभिन्न दलबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका २२ जना महिला उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुले २२८ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै आएका छन् । यता बुद्धिजीवीहरुले पार्टीको आधार कमजोर भएको रविगतमा चुनाव हारेको क्षेत्रबाट महिलालाई उम्मेदवार बनाएकाले सप्तरीमा महिला उम्मेदवारले जित्ने सम्भावना कम रहेको बताएका छन् ।
पुरुष उम्मेदवारबीच कडा प्रतिस्पर्धा
सर्लाही– रामवतीदेवी थरुनी आफू संविधानसभा निर्वाचनमा उम्मेदवार हुने संविधान बनाउने अवसर प्राप्त हुने कुरा सपनामा पनि चिताएकी थिइनन् । तर उनलाई यो साइत जुराइदिएको छ– मधेस तराई फोरम दलले ।
सर्लाही–१ बाट उनको उम्मेदवारी परेपछि अहिले थरुनीलाई घर व्यवहारको काम थाती राखी मतदाताको घर आँगनमा गएर मत माग्न भ्याइनभ्याइ भएको छ । लोकतन्त्र र संविधानको स्थायित्वसँगै शिक्षा, स्वास्थ्य, बाटोघाटो, बिजुलीबत्ती, पानी, रोजगारी, बाटोजस्ता आधारभूत कुरालाई चुनाव प्रचारको मुख्य एजेन्डा बनाएर सर्लाही जिल्लामा प्रत्यक्षतर्फ १९ जना महिला उम्मेदवार पुरुष उम्मेदवारसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीद्वारा प्राप्त तथ्याङ्कअनुसार सर्लाही–१ मा मधेस तराई फोरमका रामवतीदेवी थरुनी, नेपाली काँग्रेसबाट सुशीला कार्की, मधेसी जनाधिकार फोरमबाट सावित्रीकुमार महतो, संघीय सद्भावना पार्टीबाट बिन्दु शाह, तामाङ्सालिङ राष्ट्रिय जनएकता पार्टीबाट भगवती माया लामा, सहकारी पार्टी नेपालबाट फूलमाया बराइली चुनावी मैदानमा छिन् ।
यस्तै सर्लाही–२ मा राष्ट्रिय जनता दल नेपालबाट चन्द्रकलादेवी र जनजागरण पार्टी नेपालबाट अनिताकुमार उप्रेतीको उम्मेदवार छ भने क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट मीना पाण्डे, तराई मधेस सद्भावना पार्टीबाट मीनाकुमार दास, राष्ट्रिय जनता दल नेपालबाट शोभादेवी महतो र नेपाल मजदुर किसान पार्टीबाट किरणदेवी पासवानले उम्मेदवारी दिएकी छिन् ।
यसैगरी सर्लाही–४ बाट सङ्घीय सद्भावना पार्टीबाट शक्ति भन्ने शवनम र क्षेत्र नं ५ बाट सुनिता रायले उम्मेदवारी दिएकी छिन् भने क्षेत्र नं ६ मा नेकपा (एमाले) बाट ममतादेवी राजपुर, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उर्मिलादेवीसहित मानकी सहनी र मीना यादवले समेत आफ्नो उम्मेदवारी दिएकी छिन् ।
सर्लाही–१ मा ३६ जना उम्मेदवारमध्ये छ जना महिला क्षेत्र नं १ मा ४५ जना उम्मेदवारमध्ये एक महिला क्षेत्र नं ३ मा १० जना उम्मेदवारमध्ये पाँच जना महिला, क्षेत्र नं ४ मा ३९ जना उम्मेदवारमध्ये एक जना महिला, क्षेत्र नं ५ मा ४६ जना उम्मेदवारमध्ये एक जना महिला र क्षेत्र नं ६ मा ५२ जना उम्मेदवारमध्ये चार जना महिला उम्मेदवारको सङ्ख्या रहेको छ ।
‘पुरुष त चुनाव जितेर गए तर संविधान बनाउन सकेनन् भने यसपालि मतदाताले हामीलाई पत्याएमा चुनाव जितेर गएपछि संविधान पनि बनाउँछौँ र महिलाको अधिकार पनि सुनिश्चित पार्छौं’, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार किरणदेवी पासवानले दाबी गरेकी छिन् ।
ठूला नेतासँग महिला नेत्री
काठमाण्डु– संविधानसभाको निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरुसँग ठूला दलकै महिला नेत्रीहरुले डटेरै प्रतिस्पर्धामा उत्रेका छन् । प्रत्यक्षतर्फ दलहरुले १० प्रतिशतको हाराहारीमा महिलाले उम्मेदवारी दिएका छन् । यद्यपि दलका महिलाले कम्तीमा ३३ प्रतिशत महिलालाई टिकट सुरक्षित गरिनुपर्ने माग गर्दै आएका थिए ।
संविधानसभामा महिलाको अधिकतम सङ्ख्याले मात्र महिला र बालबालिकामैत्री संविधान बन्ने महिला नेत्रीहरुको तर्क रहेको छ । महिलालाई प्रतिनिधित्व गराउन नभई औपचारिकताका लागि मात्र ठूला नेतासँग प्रतिस्पर्धा गराइएको महिला अधिकारकर्मीको भनाइ रहेको छ ।
एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल उठेको सिरहा–५ मा नेपाली काँग्रेसकी रामपरी कुमारी यादव, नेपाली काँग्रेसका सभापति सुशील कोइराला उठ्नुभएको चितवन–४ मा नेकपा (एमाले)की दिलकुमारी रावल र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल उठेको सर्लाही क्षेत्र नं १ मा नेपाली काँग्रेसकी सुशीला कार्कीले प्रतिस्पर्धा गरिरहेकी छिन् ।
त्यसैगरी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग काठमाण्डु–२ मा काँगे्रसकी प्रतिमा गौतम, काँग्रेसका महामन्त्री प्रकाशमान सिंहसँग काठमाण्डु–१ मा एमाओवादीकी रेणु दाहाल र एमालेकी विद्या न्यौपानेले कडा चुनौती दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भक्तपुर क्षेत्र नं १ मा एमालेकी रञ्जु नापितलाई मैदानमा उतारिएको छ । यो क्षेत्रमा अध्यक्ष बिजुक्छे ०४८ सालदेखि विजयी हुँदै आएका छन् । काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिसँग धनुषा क्षेत्र नं ३ मा एमालेकी जुलीकुमारी महतो र काँग्रेसकै नेता डा रामशरण महतसँग नुवाकोट क्षेत्र नं २ मा एमालेकी शान्ता थापा प्रतिद्वन्द्वी रहेकी छिन् ।
त्यसैगरी नुवाकोट–१ मा राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनी र काँग्रेसका नेता अर्जुननरसिंह केसीसँग नेकपा (एमाले) का पूर्व सांसद विमला सुवेदीले प्रतिस्पर्धा गरिरहेकी छिन् । काठमाण्डु– १ का एमाओवादीकी उम्मेदवार रेणु दाहाल जनताले व्यक्तिभन्दा एजेन्डा हेरेर मत दिने हुँदा जस्तोसुकै ठूलो नेतासँग प्रतिस्पर्धा गर्दा फरक नपर्ने बताउछिन् ।
काठमाण्डु–१ का एमालेकी उम्मेदवार विद्या न्यौपानेले महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउँदै महिला नेत्री पनि प्रतिस्पर्धाका लागि समक्ष भएको धारणा राख्छिन् । उनले कार्यक्षेत्र एउटै भएर पनि पुरुष प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता हुन्छ भन्दै बालबालिकाको हित र महिला हिंसाविरुद्धका एजेन्डालाई आफ्नो पार्टीले उठाएकाले आफ्नो विजयी सुनिश्चित भएको दावी गरे ।
पहिलो संविधानसभामा काँग्रेस र एमालेका दुई र एकजना मात्र महिला नेत्रीले प्रत्यक्षमा विजयी भई संविधानसभामा प्रतिनिधित्व गर्न पाएका थिए । यद्यपि समानुपातिक प्रतिनिधित्वका आधारमा सबै दलहरुबाट ३३ प्रतिशत महिला सहभागिता भई त्यो समावेशी संविधानसभा बनेको थियो । यस निर्वाचनमा देशभर पार्टी र स्वतन्त्र गरी ६६८ महिलाले उम्मेदवारी दिएका छन् भने काठमाडौँको तीन जिल्लामा १०१ महिला प्रतिस्पर्धामा रहेका छन् ।