चालक र यात्रुलाई भित्रै राखी ट्रकमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १०:०१ मा प्रकाशित

fireबारा, २८ कात्तिक– पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पसाखोलामा जंगलको बीचमा गुडिरहेको एक ट्रकलाई अज्ञात समूहले पेट्रोल बम प्रहर गरेर आगजनी गरेको छ । आगजनीबाट चालक, सहचालक र एक यात्रु गम्भीर घाइते भएका छन् ।

ना ३ ख ५६९७ नम्बरको सो ट्रकबाट चालक राजकुमार क्षेत्री, सहचालक र एक यात्रुलाई ट्रकबाट ओर्लिनै नदिइ बिहिबार दिउँसो उनीहरुले पेट्रोल बम प्रहार गरी आगो लगाएका थिए । आगोमा जलेर तीनैजना घाइते भएका छन् भने ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई प्रहरीले आफ्नै गाडीमा राखेर नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका लागि पु¥याएकोमा त्यहाँ उपचार सम्भव नभएको बताइएको छ । उनीहरुलाई काठमाण्डु ल्याउने तयारी गरिरहेको छ । आगो लगाउनेहरु जंगलतर्फ भागेको र खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यसैगरी काभ्रेको गोठपानीमा बा २ ख १४८७ नम्बरको बसमा बिहिबार दिउँसो पेट्रोल बम प्रहार भएको छ ।

बम प्रहारबाट बसमा सामान्य क्षति भएको र सबै यात्रु सकुशल रहेको काभ्रे प्रहरीले जनाएको छ । चुनावविरुद्ध आन्दोलनरत नेकपा–माओवादीले आगजनी र पेट्रोल बम प्रहार गरेको प्रहरीले अनुमान गरे पनि घटनाको जिम्मा कसैले पनि लिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us