विपक्षीहरु अत्तालिएकोमा एमालेको आपत्ति

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १०:४८ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, २८ कात्तिक– नेकपा एमालेले ‘संविधासभा निर्वाचनमा आफ्नो पार्टीविरुद्ध सुनियोजित र हिंसात्मक आक्रमणका घटना हुन थालेकोले विपक्षीहरु अत्तालिएको मानसिकतामा पुगेको बताएको छ । विपक्षीहरुले आचारसंहिताको उल्लङ्घन गरेर मतदातालाई खरिदबिक्रीको विषय बनाउने तथा हेलिकप्टर सयर गरेर भड्किलो प्रचारशैली अपनाएका आरोप लगाउँदै एमालेले आपत्ति समेत जनाएको छ ।

एमालेले बिहिबार पार्टी केन्द्रीय कार्यालय बल्खुमा पत्रकार सम्मेलन गर्दै हिंसाको बलमा निर्वाचन सार्ने प्रयास भएमा आफूलाई स्वीकार्य नहुने बताएको छ । महासचिव ईश्वर पोखरेलले निर्वाचनको बहिष्कारका क्रममा रहेका दलसँग वार्ता र संवाद गर्न एमाले खुल्ला रहेको बताउँदै भने, ‘निर्वाचन सार्ने सम्भावना नरहेको र अहिलेको समयमा ‘लिक’ बाहिर गएको राजनीतिलाई सही बाटामा ल्याउने साधन नै निर्वाचन भएको पोखरेलले बताए ।

९७ सिट मात्र जित्नेः नेपाल

पत्रकार सम्मेलनमा नेता प्रदीप नेपालले एमालेले आजसम्मको अवस्थाअनुसार प्रत्यक्षतर्फ ९७ स्थानमै निर्वाचन जित्ने आँकलन गरे । उनले मतदाताको सुरक्षाका लागि निर्वाचन आयोग र सञ्चारमाध्यमसँग पार्टीले आग्रह गरिरहेको पनि बताए ।

पराजय पीडाबाट आत्तिएकाहरुले पछिल्लो चरणमा साधारण मतदातालाई पैसाको बलमा खरिद गर्ने अपराध पनि आरम्भ गरिसकेको जानकारी एमालेसमक्ष आएको जिकिर पत्रकार सम्मेलनमा नेता नेपालद्वरा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको  छ, ‘मतदातालाई प्रलोभनमा पार्ने, तिनलाई खरिदबिक्रीको बस्तु बनाउने काम निर्वाचन विरोधी मात्रै होइन मानवता विरोधी अपराध हो, हाम्रो पार्टी यस्ता सबै गलत कामको निन्दा र भत्र्सना गर्दछ र निर्वाचनमा सहभागी दललाई मानव मर्यादाको रक्षा गर्न आह्वान गर्दछ, यस्ता अपराधपूर्ण कामकारबाहीको छानबिन गरी दोषीलाई उचित दण्ड दिएर स्वतन्त्र र निष्पक्ष निर्वाचनको प्रत्याभूति दिन हाम्रो पार्टी सरकार र निर्वाचन आयोगसँग माग  गर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us