
सल्लेरी, २८ कात्तिक : सोलुखुम्बुको देउसामा काँग्रेस कार्यकर्ताले एकीकृत माओवादीका कार्यकर्ता रोइस राईको हत्या गरेको खुलासा भएको छ । गएराती देउसास्थित एमाओवादी कार्यकर्ता डिल्ली शेर राईको घर तोडफोड गरी सोही घरमा रहेका रोइस राईको हत्या गरेको खुलासा भएको हो ।
एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा सोलुखुम्बुका इन्चार्ज पासाङ शेर्पा कर्माका अनुसार राईको शव देउसा र मुग्ली गाविसको वीचमा पर्ने बर्खु खोलामा बिहिवार अपरान्ह फेला परेको हो । काठमाण्डुबाट भाडामा लगिएका पदम राई र राजु राईको समूहले एमाओवादी गाउँ कमिटीका सदस्य डिल्लीशेर राईको घर तोडफोड गरी त्यहाँ बास बसेका रोइस राईलाई खोलामा लगेर हत्या गरेको जानकारी आएको कर्माले बताए । ‘डिल्लीशेर राई जीको घरमा उहाँकी बहिनी र छोरी रहेछन, उनीहरु भागेर आफन्त कहाँ गएर जीवन बचाँएछन,रोइसलाई खोलामा लगेर हत्या गरेछन’कर्माले काठमाण्डुटुडेसँग भने‘भाला खुकुरी लिएर गएको समूहले डिल्ली शेर राईको घर तोडफोड गरेको छ ।’
गएराती नै काँग्रेसको देउसा गाउँ समितिका सभापति रिन्जी राईलाई पनि नकाव लगाएर गएको अज्ञात समूहले हत्या गरेको छ । सोही घटनाको प्रतिशोध साँध्न रोइसको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । तर कर्माले भने सो घटनामा आफनो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन । प्रहरीले भने दुवै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।