
काठमाण्डु, २८ कात्तिक– निर्वाचन आयोगले हेलिकप्टर प्रयोग गर्न अनुमति दिए पनि आयोगकै जिम्मेवार व्यक्तिद्वारा आचारसंहिता उल्लंघन भएको भनिएपछि एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् ।
नेता श्रेष्ठले बिहिबार आयोग नै पुगी आयोगले दिएको अनुमसति पत्र देखाउँदै आचारसंहिता विपरित कुनै पनि गतिविधि नगरेको स्पष्ट पारेका छन् । उनले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भेटेर आफूले त्यस्तो कुनै पनि गतिविधि नगरेको जानकारी गराएका हुन् ।
विभिन्नसञ्चार माध्यममा निर्वाचन आयोगको अनुमति विपरीत मुलुकका विभिन्न स्थानमा हेलिकप्टर प्रयोग गरेको भन्ने समाचार सार्वजनिक भएकामा उनले प्रमुख निर्वाचन आयुक्तसमक्ष आपत्ति प्रकट गरेका थिए । ‘आयोगले निर्धारण गरेको आचारसंहितालाई पालन गर्ने र अक्षरशः लागू गर्ने व्यक्तिको हैसियतले यस्ता गलत प्रचार किन भयो भनेर मैले जानकारी गराएको हो’, नेता श्रेष्ठले भने ।