
सोल–रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार दक्षिण कोरियामा उत्तर कोरियाको सहयोग आवश्यक पर्ने एसियादेखि युरोपसम्म पुग्ने नयाँ व्यापार मार्गको एक परियोजनाको प्रस्ताव अगाडि सारेका छन ।
दुई कोरियाबीच सम्बन्धमा तनाव तथा उत्तर कोरियालाई उसको पारमाणविक महत्वकाँक्षा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदायले कोसिस गरिरहेको समयमा यस प्रस्तावले ठूलो राजनीतिक वाधा भोग्नुपर्ने देखिएको छ ।
दक्षिण कोरियाको एक दिने भ्रमणमा आएका रसियाली राष्ट्रपति पुटिनले कोरियाली तथा रसियाली व्यापार सम्मेलनमा यस प्रस्तावमा समस्या भएको स्वीकार गर्दै यी कुराभन्दा सम्भावित फाइदा ठूलो हुने बताए । उनले राजनीतिक समस्या छिटै समाधान हुने आशा गर्दै दक्षिण तथा उत्तर कोरियाका साथमा रसियाले यो परियोजना सम्पन्न भएमा ठूलो आर्थिक फाइदा प्राप्त गर्ने बताए । उनले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई अगाडि आउन पनि आग्रह गरे ।
उनले यस परियोजनाले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता स्थापना गर्न ठूलो सहयोग गर्ने बताए ।
रसियाले सेप्टेम्बरमा खासानबाट उत्तर कोरियाली बन्दरगाह राजिनसम्मको ५४ किलोमिटर मार्ग सम्पन्न गरेको छ । राजिनमा उत्तर कोरिया, रसिया तथा चीनको सीमा जोडिएको छ ।
रसियाली राष्ट्रपति पुटिन अब उत्तर कोरियाबाट दक्षिण कोरियाको बुसानसम्म रेगमार्ग विस्तार भएको देख्न चाहन्छन ।
आमसञ्चार माध्यमका अनुसार रसियाले यस परियोजनाका लागि दक्षिण कोरियाले ३४ प्रतिशत मस्कोले ३६ प्रतिशत र प्योङयाङले ३० प्रतिशत खर्च व्यहोरोस् भन्ने चाहेको छ ।
स्टिल उत्पादक पोस्को, रेल सञ्चालक कोरेल तथा हुन्डाइ रोटेमलाई यसमा दक्षिण कोरियाको शेयर लिन सुझाव दिइएको छ ।
राष्ट्रपति पुटिनको भ्रमणको समयमा यस विषयमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । रासस/एएफपी